Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका आगामी नीति तथा कार्यक्रमः यस्ता छन्, योजनाहरु

शुक्रबार, १६ भदौ २०७४, ०६ : १७ मा प्रकाशित

धितोपत्र बोर्डका आगामी नीति तथा कार्यक्रमः यस्ता छन्, योजनाहरु

अर्थ संसार, काठमाडौं– नेपालल धितोपत्र बोर्ड (सेबोन)ले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले  पत्रकार सम्मेलन गरी आव २०७४७५ को प्रमुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले आगामी योजनामा सूचीकृत संगठित संस्थाका लागि संस्थागत सुशासनसम्बन्धी निर्देशिका बनाई लागू गर्ने, बढ्दो अर्थतन्त्र र पूँजीबजारको विस्तारलाई धान्न सक्नेगरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा सहजीकरण, धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्नेसम्बन्धी अध्ययन गर्न समिति गठन गरेको छ । यसै परिप्रेक्ष्यमा आवश्यक कार्यविधि बनाउने, दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं (प्यान)लाई आव २०७५/७६ देखि अनिवार्य गर्न आवश्यक नीतिगत व्यवस्था गर्नेलगायत समेटेको छ ।

साथै, बोर्डले यस वर्ष रजतजयन्ती मनाउनेसमेत कार्ययोजनामा समावेश छ । सो अवसरमा बोर्डले पूँजीबजार प्रदर्शनी आयोजना, धितोपत्र बजारसम्बन्धी अन्तरराष्ट्रिय सेमिनार आयोजना, सेबोन जर्नल प्रकाशन र रू.५० हजार रकमको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने जानकारी गराएको छ । उल्लिखित नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट धितोपत्र बजारमा पूर्वाधारको विकास हुनुका साथै बजारको पारदर्शिता र यसप्रति लगानीकर्ताको विश्वास बढ्ने बताए ।

धितोपत्रको दोस्रो बजार देशभर विस्तार भई समग्र प्राथमिक तथा दोस्रो बजारमा बढोत्तरी आउने अपेक्षासमेत उनले गरे । नेपालको धितोपत्र बजार दीर्घकालीन पूँजी परिचालनको महत्वपूर्ण संयन्त्रको रूपमा विकसित हुने बोर्डको विश्वास रहेको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले उठाएको प्रश्नमा बोर्डका प्रवक्ता निरज गिरीलगायत प्रतिनिधिले प्रस्ट पारेका थिए । यसअघि कार्ययोजना बनाई आन्तरिक अभिलेख राख्ने गरिए पनि कार्ययोजना सार्वजनिक गरिएको आफ्नो इतिहासमै पहिलोपटक भएको बोर्डको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको