Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका सीईओ नियुक्ती विरुद्ध उच्च अदालतमा पनि मुद्दा दर्ता

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १३ : १९ मा प्रकाशित

प्रभु बैंकका सीईओ नियुक्ती विरुद्ध उच्च अदालतमा पनि मुद्दा दर्ता

प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । अधिवक्ता अनिता थापा केसीले गत शुक्रबार यस्तो मुद्दा दायर गरेकी हुन् ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई दायर भएको मुद्दामा आइतबार पेसी तोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिँदै अर्को पेसी माघ २० गतेका लागि तोकेको छ । “दुवै पक्षलाई छलफलमा उपस्थित गराई आदेश गर्नुपर्ने प्रकृतिको देखिएकाले अन्तरिम आदेश छलफलका लागि माघ २० गतेको पेसी तोकिएको छ”, उच्च अदालतको आइतबारको आदेशमा भनिएको छ ।

प्रभु बैंकका सीईओमाथि लाग्यो गम्भिर आरोप, राष्ट्र बैंकमा उजुरी दर्ता

प्रभु बैंकका सीईओ अशोक शेरचनले यसअघि बैंकमा दुई कार्यकालसम्म सीईओका रुपमा काम गरिसकेका छन् । तेस्रो कार्यकाल पनि शेरचनलाई दिइनु बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को प्रावधान विपरीत रहेको रिट निवेदनमा उल्लेख छ । उक्त ऐनको दफा २९ (२) मा ‘कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुुनः नियुक्ति हुन सक्नेछ’, भन्ने प्रावधान रहेको छ ।

बाफियाले वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतका रुपमा बढीमा दुई कार्यकालसम्म काम गर्न पाउने व्यवस्था गरेको भए पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गाभ्ने–गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रियामा जाने बैंकका सीईओहरुका लागि एक कार्यकाल थप गर्न सक्ने सुविधा दिएको थियो । प्रभु बैंक लिमिटेडले सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेर गत पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।

सेन्चुरी बैंकलाई गाभेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् दिएको सुविधा प्रयोग गर्दै प्रभु बैंकले सीईओका रुपमा शेरचनलाई तेस्रो कार्यकालका लागि नियुक्त गरेको हो । प्रभु बैंकको सञ्चालक समितिले माघ १५ गतेदेखि लागू हुनेगरी शेरचनलाई तेस्रो कार्यकाल नियुक्त गरेको थियो । बैंकको सञ्चालक समितिको उक्त निर्णयविरुद्ध यसअघि नेपाल राष्ट्र बैंकमा पनि उजुरी परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको