Like us!
Follow us!
Connect us!
Watch us!

एम. अधिकारीः पूँजीबजारकालागि नायक कि खलनायक ?

विकास के.सी

सोमबार, ०१ फागुन २०७९, १६ : ५४ मा प्रकाशित

एम. अधिकारीः पूँजीबजारकालागि नायक कि खलनायक ?

नेपालको पूँजीबजारको विकास र विस्तारकालागि नेपाल राष्ट्र बैंकको नीति, नियम र नियतिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अझ स्पष्टरुपमा भन्नु पर्दा केन्द्रिय बैंकसँग एउटा मौद्रिक नीतिरुपी वाण छ, जसको प्रहारसँग आमलगानीकर्ता निकै नै त्रसित देखिन्छन् । प्रत्येक त्रैमासिक अवधिको समिक्षा नजिकिँदै गर्दा नेपाली पूँजीबजारको आकाशमा कालो बादल मडारिन थाल्दछ । विगतको तितो अनुभव सँगालेका लगानीकर्ताहरुको मनमा आशंकाको पहाड सिर्जना हुनेगर्दछ ।

केन्द्रिय बैंक पूँजीबजारको प्रत्यक्ष नियामक निकाय नभएतापनि उसका विगतका हस्तक्षेपहरुका कारण लगानीकर्ताहरुले बेहोरेको अपुरणिय क्षति र पिडा विर्सन लायक छैन् । राष्ट्र बैंकले मुद्रा व्यवस्थापनका लागि चलाएका औजारहरुले लगानीकर्ताका मन मस्तिस्कमा गहिरो घाउ बनाएको अवस्था छ । अस्थिर राजनीति, आयातमुखी अर्थव्यवस्था, विप्रेशण तथा वैदेशिक ऋण र सहायताले चलेको हाम्रो जस्तो मुलुकमा केन्द्रिय बैंकसमक्ष चुनौतिहरु पनि प्रसस्तै होलान् । यद्यपी समग्र प्रणालीमा सुधार ल्याउँदै गर्दा त्यस प्रणालीभित्र रहेर बसेका लाखौं आमलगानीकर्तालाई पनि राष्ट्र बैंकले न्यायोचित व्यवहार गर्नुपर्ने हुन्छ ।

पूँजीबजारमा आश्रित लाखौं आमलगानीकर्ता र तिनका परिवारपनि यसै अर्थव्यवस्था र प्रणालीका अभिन्न अंग हुन् । नेपाल सरकार र तीनका नियामक निकायका परिधिमा बसेर राज्यलाई आफूलाई घाटा हुँदापनि राजिखुशी कर तिरेर जिवनयापन गर्छु भन्नु आमलगानीकर्ताको भद्रता र सालिनताको प्रतिक हो । केन्द्रिय बैंकले नियतबस पूँजीबजार विरोधी नीति अवलम्बन गर्नेगर्दछ भनेर भन्न उचित नहोला तर कुनैपनि नीति अवलम्बन गर्दा त्यसले निम्त्याउन सक्ने असरहरुका बारेमा भने केन्द्रिय बैंक सजक हुनैपर्ने देखिन्छ । 

केन्द्रिय बैंकद्धारा गरिने पक्षपात र पक्षपोषण:

नेपाल राष्ट्र बैंकले देशका बैंक तथा वित्तिय संस्थाहरुको पक्षपोषण गरेको स्पष्टरुपमा देखिन्छ । उसका नियमनमा रहेका ती संस्थाहरुमा तरलता अधिक हुँदा प्रशोचन गर्ने र कम हुँदा तलरता प्रवाह गर्ने केन्द्रिय र्बैकको कार्य हो । तर र्बैङिक प्रणालीमा तरलता अधिक हुँदा केन्द्रिय बैंकले आफ्ना सबै परिधिहरु उल्लंघन गरेर बैंक तथा वित्तिय संस्थाहरुले मुलुकको कुल ग्राहस्र्थ उत्पादन भन्दा बढी ऋण प्रवाह गर्दापनि कानमा तेल हालेर बस्ने गर्दछ । अनि प्रणालीमा तरलता कमी भएपछि अस्त्रमाथि अस्त्र प्रयोग गरेर तिनै ऋणीहरुलाई पैसा फिर्ता गर भनेर निचोर्ने काम गर्दछ । यो कस्तो किसिमको मुद्रा व्यवस्थापन हो ? अर्थतन्त्रको भाषामा माईक्रो म्यानेजमेन्ट हो कि म्याक्रो ? आफ्नो अनुकुल हुँदा सबै नियम र नियमन खुकुलो पारेर लगानीकर्ताहरुलाई उचालेर टुप्पोमा पुर्याउने अनि प्रतिकुल परिस्थिति आएपछि खसालेर भुँईमै झारिदिने केन्द्रिय बैंकको यस्तो अस्थिर नीति सच्चिन आवश्यक छ । 

मुखमा रामराम बगलीमा छुरा :

केन्द्रिय बैंकका जिम्मेवार पदाधिकारीहरुले पूँजीबजार विरोधी नीति कहिल्यै अवलम्बन नगरेको र भविष्यमा पनि नगर्ने प्रतिवद्दता बारम्बार दोहोर्याई रहेको पढ्न र सुन्न पाईन्छ । यो अति नै सकारात्मक कुरा हो । आमलगानीकर्ताले यस्ता अभिव्यक्तिको सम्मान गर्नैपर्छ । तर अर्थशास्त्रका विद्यार्थीहरुले खचाखच भरिएको केन्द्रिय बैंकको नेतृत्वमा यस्ता यस्ता नीति ल्याउँदा पूँजीबजारमा तत् तत् किसिमको असर पर्छ भन्ने ज्ञान पनि नभएको होला भनेर मान्न सकिन्न । केन्द्रिय बैंकको नीति र वक्तव्य आफैमा विरोधासपूर्ण छ ।

केन्द्रिय बैंकले चाल्न सक्ने आगामी कदम: 

पूँजीबजारमा लामो समय रहेर वसेका आमलगानीकर्ताहरु राष्ट्र बैंकले भन्दै र गर्दै आएको वित्तिय श्रोतको समान वितरण र व्यवस्थापनकाबारेमा जानकारनै रहेको मेरो बुझाई छ । आन्तरिक तथा वाह््य क्षेत्रका चुनौतिहरु क्रमशः सुधारोन्मुख हुँदै गएका छन् । वैदेशिक मुद्रा सञ्चिति सुधार हुँदै गएको र शोधानान्तर स्थिति बचतमा आईसकको अवस्था छ । प्रणालीमा तरलता थपिँदै गएपछि आगामी दिनहरुमा केन्द्रिय बैंकले उसका वर्ग संरक्षणकालागि निक्षेपको ब्याजदर घटाउने कदम चाल्नसक्ने अनुमान गर्न सकिन्छ । त्यसको शुरुवात भईनै सकेको छ । निक्षेपको व्याजदर कम भएपछि कर्जाको व्याजदर स्वतः घट्न जान्छ । अधिक तरलता केन्द्रिय बैंकको टाउको दुखाईको विषय बन्न गएमा सँधै उसले रिभर्स रिपो जारी गरिरहन सक्दैन् । फलस्वरुप अहिलेका कसिलो नीतिहरुलाई केन्द्रिय बैंकले क्रमशः खुकुलो पार्दै लैजानसक्ने अनुमान गर्न सकिन्छ (१२ करोडको एकल ग्राहक सीमा, १५० प्रतिशत रिस्क वेटेड एभरेज लगायत) । 

लगानीकर्ताको अबको रणनीति:

पूँजीबजारका लगानीकर्तामा पनि शिक्षा, तालिम र अनुभवको कमि रहेको देखिन्छ । लगानी झिक्ने बेलामा लगानी बढाउने र लगानी गर्ने बेलामा बेचेर बस्ने प्रबृत्ति छ । अहिले लगानी गर्ने उपर्युक्त समय हो । अहिले बढेको बजारलाई आगामी दिनका फण्डामेन्टलले सपोर्ट गर्नेछ । बजारमा देखिएको टेक्निकल चार्ट प्याटर्नलाई भविष्यमा आउने फण्डामेन्टलले जस्टिफाई गर्छ । यही नै बजारको नियम हो । प्रत्येक बुलको शुरुवात नराम्रो खवरबाट हुनेगर्दछ भने त्यसको अन्त्य अतिनै राम्रो खबरहरुबाट हुनेगर्दछ । हरेक करेक्सन खरिदको सुनौलो मौका हुनसक्छ । यो यस लेखकको व्यक्तिगत विचार हो । लगानी गर्ने निर्णय र त्यसको जिम्मेबारी तपाईँ आफैले लिने हो ।

 अन्त्यमा, एम. अधिकारी पूँजीबजारको यात्राका क्रममा आएका एक सहयात्री मात्र हुन् । पूँजीबजारको आफ्नै गति र दिशा हुन्छ । उनी नायक पनि होईनन् र खलनायक पनि होईनन् । कथाका एक पात्र भने अवश्य हुन् ।

(लेखक विकास के.सी. ईन्भेष्टर, ट्रेडर तथा फाईनान्सियल एजुकेटर हुन् ।)
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको