Like us!
Follow us!
Connect us!
Watch us!

‘बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र ज्यादतीविरुद्ध एक हप्ते रिले अनशन गर्ने’ हाम्रो नेपाली पार्टीको घोषणा

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १८ : ०१ मा प्रकाशित

‘बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र ज्यादतीविरुद्ध एक हप्ते रिले अनशन गर्ने’ हाम्रो नेपाली पार्टीको घोषणा

हाम्रो नेपाली पार्टीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र ज्यादतीविरुद्ध भोलि (शनिबार) बाट एक हप्ते रिले अनशन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानले बैंक तथा वित्तीय संस्थाको ज्यादतीका बारेमा सरोकारवाला निकायका ध्यानाकार्षण गराउँदै एक हप्ते रिले अनशनको घोषणा गरेको हो । 

बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र मानसिक दबाब सहन नसकेर व्यवसायीहरुले आत्महत्या र आत्मदाहको बाटो अवलम्बन गर्नुपरेको हाम्रो नेपाली पार्टीको बुझाई छ । वैधानिक लाइसेन्स लिएका गुण्डाहरुको कारण प्रेम आचार्यजस्ता व्यवसायीले प्रधानमन्त्रीको अगाडि आत्मदाह गर्ने अवस्था आएको उक्त पार्टीको ठहर छ ।

‘हाम्रो नेपाली पार्टीले विगत एक महिनादेखि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले चर्को व्याज असुली गरेको कारण व्यवसायमा परेको मर्कालाई सम्बोधन गरी बैंकको व्याज एक अंकमा झार्न सम्बन्धित निकायमा दवाब दिने, रिले अनसन गर्ने, ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै आएको सर्वविदित नै छ । हामीले चालेको कदम पछि सबै सरोकारवालाहरु आन्दोलित भएको कुरा हाम्रो सामू छर्लङ्गै छ । तेस्रो चरणको आन्दोलन अन्तर्गत एक हप्ते रिले अनशन गर्ने निर्णय भएकाले सबै आन्दोलित, समाजसेवी, पत्रकारहरु उपस्थित भइदिनुहुन अनुरोध गर्दछौं,’विज्ञप्तिमा भनिएको छ । 

बैंकिङ व्याजदर एक अंकमा ल्याउनुपर्ने, कम्तिमा दुई वर्षको स्वेच्छिक किस्ता छनोट गर्न पाउनपर्ने, कालो धनविरुद्ध नोटबन्दी गर्नुपर्ने, व्यवसायिक सुरक्षाका लागि संक्रमणकालीन योजना ल्याउनुपर्ने, स्वर्गीय प्रेमप्रसाद आचार्यलगायतका व्यवसायीले उठाएका मागहरु सम्बोधन गर्नुपर्ने र अनुदान रकम पारदर्शी हुनुपर्नेलगायतका माग राख्दै हाम्रो नेपाली पार्टीले रिले अनशनको घोषणा गरेको हो । 

हाम्रो नेपाली पार्टीका प्रशिक्षण विभाग प्रमुख भीमलाल पराजुलीले एकहप्ते रिले अनशनमा सहभागी हुन विभिन्न सरोकारवाला व्यक्तिहरुलाई आग्रह गरे । प्रेमप्रसाद आचार्यको आत्मदाहले विद्रोहको संकेत गरेको उनको दाबी छ । 

‘किन दिनदहाडै प्रधानमन्त्रीको अगाडि एउटा व्यवसायीले शरीरमा आगो लगाउनुपर्यो ? वास्तवमा यो आगो ती शासकहरु र ती वैधानिक लुटेराहरुका लागि संकेत थियो । आत्मदाहको प्रयासलाई, आफू मरेर दिएको सन्देशलाई हामीले सबैभन्दा पहिला बोकेका हौं,’– उनले भने  ।  
जनताको भोटबाट सिंहदरबार छिरेकाहरुबाट यो देश जोगाउनका लागि नेपाली पार्टीको उदय भएको उनको दाबी छ । 

कार्यक्रममा अर्की वक्ता मञ्जु पंगेनीले बैंकले निरन्तर दिएको मानसिक तनावको कारणले श्रीमानको हृदयघात भई मृत्यु भएको बताईन् । बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्धमा आफूले पनि अनसन बस्न लागेको उनको भनाइ छ । 

‘मेरो श्रीमान वितेको भोलि दुई महिनामात्रै हुँदैछ । यही वित्तीय संस्थाको कुरा उठाउने क्रममा म बैकको कुरा जोड्न चाहेँ । एनआईसी एसिया बैकमा मैले घर बनाउने क्रममा ऋण लिएको थिएँ । अहिलेको चलनचल्तीअनुसार भ्यालुएसन गर्ने हो भने दुई करोड ५० लाखको सम्पत्ति छ । हामीले एक करोड २० लाख लिएर त्यो घर सम्पन्न गरेका थियौं । घर सम्पन्न  गरिसकेपछि व्यवपार व्यवसाय राम्रै थियो । तिर्छु भनेर नै मान्छेले ऋण लिने हो । पछिल्लो समय हामीले किस्ता तिर्न सकेनौं । एनआइसी एसियाले लिलाम पत्र पठायो । श्रीमानलाई घर खाली गर्न भनेर बैंकले भन्छ र श्रीमानको हर्टयाट्यकले मृत्यु भयो,’– उनले भने । 

हाम्रो नेपाली पाटीका केन्द्रीय प्रवक्ता रोहन कार्कीले कृषीमा हुने अनुदानको दुरुपयोग रोक्न आवश्यक रहेको बताए । कृषि अनुदानमा कर्मचारीले नै भ्रष्टाचार गरिरहेको उनको आरोप छ । हाम्रो नेपाली पार्टी लौरो अभियानले यसको भर्तसना गरिरहेको उनले बताए । व्यवसायीलाई राहत दिने ठाउँ हुँदा पनि बैंक तथा वित्तीय संस्थाले अराजकता मच्चाएको उनको आरोप छ । बैंक तथा वित्तीय संस्थाको दवाबका कारण व्यवसायीहरु मानसिक रोगी बन्नुपरेको, घरबार बिग्रेको उनले बताए । सहज परिस्थिति हुँदा बैंक तथा वित्तीय संस्थाले छ÷सात प्रतिशतमा ऋण दिएपनि अहिलेको अवस्थामा १६÷१७ प्रतिशत व्याज पुर्याएको उनको आरोप छ । 

स्वतन्त्र अभियान संयोजक डम्बर साहुले बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध विद्रोहको सुरुवातस्वरुप रिले अनशन गर्न लागेको बताए । 
‘उद्यमीहरुले गरेर खाने माहोल भएन भनेपछि, यो देशमा बस्न लायक स्थिति भएन भनेपछि देशलाई सराप्नु र वैदेशिक रोजगारको बाटो रोज्नुको विकल्प रहँदैन । त्यसले गर्दा राज्यका निकायहरु, विभिन्न बैंक र सरोकारवाला निकायहरु यसमा गम्भीर भएर लाग्नु आवश्यक छ । अन्यथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर कारोबार गरिरहेका र कारोबार गर्ने योजनामा भएका व्यवसायीहरु प्रेमप्रसाद आचार्यको जस्तो नहोला भन्न सकिन्न,’–उनले भने । साथै, सबै सरोकारवाल र व्यवसायिक संगठनलाई पनि उक्त विद्रोहमा जोडिन उनले आग्रह गरे । 

हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले यो देशलाई बचाएर बनाउन सकिन्छ भन्ने धेयले आफूहरुले अभियान सुरु गरेको बताए ।

 अहिलेको अवस्थामा प्रेम आचार्य र मञ्जु पंगेनीजस्ता पीडित देशमा हजारौंको अवस्थामा रहेको उनको दाबी छ । देशको जर्जर अवस्थामा पनि राजनीतिक दलहरु सत्ता स्वार्थमा लागिरहेको भन्दै उनले विकृति र बेथितिका विरुद्ध हाम्रो नेपाली पार्टी प्रमुख प्रतिपक्षी बनेर उभिएको उनले बताए । 

‘यो देशमा जनताको बारेमा छलफल गर्ने समय कसैलाई पनि छैन । देशको बारेमा छलफल गर्ने समय कसैलाई पनि छैन । सत्तामा कसरी जान सकिन्छ र विदेशीको गोटी बनेर कसरी यो देश सिध्याउन सकिन्छ भनेर लागेका छन् । राज्यसत्ताबाट वैधानिक लाइसेन्स लिएका गुण्डाहरुलाई सचेत गराउन हामीले विद्रोहको सुरुवात गरेका छौं । हाम्रो नेपाली पार्टीले रिले अनशनको आयोजना गरेको छ,’–उनले भने ।कार्यक्रममा केन्द्रीय सदस्य विनोद बजगाईँ, अभियन्ता इशा खड्का लगायतको उपस्थिति रहेको थियो । केन्द्रीय सदस्य हरि कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको