Like us!
Follow us!
Connect us!
Watch us!

१७ लाख डिम्याट खाता बन्द गराइँदै

पत्रपत्रिका

आइतबार, २१ फागुन २०७९, ०६ : ३१ मा प्रकाशित

१७ लाख डिम्याट खाता बन्द गराइँदै

धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजारभन्दा बढी हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् । 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो समयदेखि खाता नवीकरण समेत नभएको बताए। उनका अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ ।

कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ । हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएको न्यौपानेले जानकारी दिए । वार्षिक सय रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नवीकरण लागत पनि बढी हुने भएकाले ती खाताहरू बन्द गराउँदा नै प्रभावकारी हुने न्यौपानेको भनाइ छ । 

घरमै बसेर नवीकरण गर्न सकिने व्यवस्था भएको अवस्थामा लामो समयदेखि नवीकरण नभई निष्क्रिय रहेका ती खाता सञ्चालनमा लगानीकर्ताले समेत चासो नदिएको उनको बुझाइ छ । निष्क्रिय खाता कायम राखेर संख्या मात्र बढाउनुको अर्थ छैन, उनले भने, नियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खातामध्ये ३२ प्रतिशत निष्क्रिय हुनुको पछाडि एकै परिवारका धेरै सदस्यको नाममा खोलिएको हुनसक्ने अनुमान लगाए । एकै परिवारका धेरै सदस्यको नाममा खाता खोलिए पनि केही सदस्य मात्र कारोबारमा सहभागी भएको हुनसक्ने श्रेष्ठको अनुमान छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको