Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा बैंकहरु निकै सबल अवस्थामा छन्, डुब्ने परिकल्पनासम्म पनि गर्नु आवश्यक छैन

बसन्त पाण्डे

मंगलबार, ३० फागुन २०७९, १७ : ०६ मा प्रकाशित

हाम्रा बैंकहरु निकै सबल अवस्थामा छन्, डुब्ने परिकल्पनासम्म पनि गर्नु आवश्यक छैन

फाल्गुन २६ गते अमेरिकी सिलिकन भ्याली बैंक डुबेको खबरले विश्वभरि तहल्का मच्चायो। त्यसपछि प्रविधिमा आधारित स्टार्टअपहरुलाई ऋण दिएका बैंकहरुलाई त्यहाँका नियामकहरुले बन्द गराउन थालेका छन्। यो कुराले बैङ्किङ्ग सेक्टरका लगानीकर्ताहरु त्रसित भईरहेको बेलामा २८ गते राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा विनियमावली प्रकाशित गर्यो। उता अमेरिकामा बैंकहरु डुब्न थाल्नु र यता राष्ट्र बैंकले अन्तिम ऋणदाता नियमावली ल्याउनुमा कुनै अन्तरसम्बन्ध त छैन भन्ने कुराले नेपाली लगानीकर्ताहरुमा पनि त्रासको वातावरण बनाईदियो। यो कुरा केहि दिनदेखि लगातार घटिरहेको बैङ्किङ्ग सेक्टरको सेयरमूल्यले पुष्टि गरिसकेको छ। सेयर धितोकर्जामा लगाईको १२ करोडको क्यापले बैङ्किङ्ग सेक्टरमा ठूलो सेलिङ्ग प्रेसर आएर बैंकहरुको मूल्य धेरै नै घटिसकेको हुँदा अब बैंकहरुको मूल्य थप नघट्ने आँकलन गरिएको थियो। तर यो घटनाले केहि बैंकहरुमा फेरी सेलिङ्ग प्रेसर देखिन थालेको छ र यसले समग्र नेप्से इन्डेक्सलाई नै प्रभाव पारिरहेको छ। 

के बैंकहरु समस्यामा रहेकाले राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा विनियमावली ल्याएको हो ? 

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल समक्ष पंक्तिकारले यहि जिज्ञासा राख्दा उनले यस्तो बिलकुल नभएको बताए। अन्तिम ऋणदाताको सुविधा राष्ट्र बैंकले पहिले देखि नै दिँदै आएको उनले बताए। यसको व्यवस्था पहिलेदेखि नै भएपनि कार्यविधि नभएकाले अहिले कार्यविधि बनाईएको पनि उनले बताए। आफूलाई सम्झना भएसम्म विगतमा नेपाल बंगलादेश बैंक र भिवोर विकास बैंकले मात्रै यस किसिमको सुविधा लिएको पनि उनले बताए। 'यो व्यवस्था पहिले देखि नै भएतापनि यदि कुनै वित्तिय संस्थाले यस्तो सुविधा लिन चाहेमा राष्ट्र बैंकलाई सो वित्तिय संस्थाले एप्रोच गरिसकेपछि राष्ट्र बैंकको संचालक समितिको बैठक बसी कति लोन दिने, के आधारमा दिने भन्ने निर्णय हुने गर्दथ्यो। भईरहेकै सुविधालाई थप व्यवस्थित बनाउन यो विनियमावली ल्याईएको हो।' पोखरेलले अर्थसंसारलाई बताए। उता अमेरिकामा सिलिकन भ्याली बैंक डुब्नु र यो नियमावली सार्वजनिक हुनु एउटा संयोग मात्रै भएको उनले प्रष्ट पारे। 

पछिल्लो समय बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जानुले के संकेत गर्दछ भन्ने प्रश्नमा उनले अहिले बैंकहरु एग्रेसिभ्ली लोन रिकोभरीमा लागेकाले  एनपीए बढिरहेको बताए। 'विगत १० वर्षदेखि बैङ्किङ्ग इण्डष्ट्रीको एनपीए २ प्रतिशतभन्दा तल थियो। अहिले एनपीए २% भन्दा माथि रहेको देखिन्छ। पत्रिकाका पानाहरु धितो लिलामीका सूचनाहरुले भरिनुले पनि बैंकहरु रिकोभरीमा एग्रेसिभ्ली लागेको प्रष्ट पार्दछ। अहिले बैंकहरुसंग लगानीयोग्य पूँजी नभएको अवस्था होइन तर उनीहरु अहिले कर्जा लगानीमा एकदमै कन्सियस भईरहेको अवस्था हो।' 

हाम्रा बैंकहरु राम्रो अवस्थामा रहेका र बैंकहरु डुब्ने परिकल्पना समेत गर्नुपर्ने अवस्था अहिले नरहेको उनले स्पष्ट पारेका छन्।  

हाम्रो बैंक निकै सबल अवस्थामा छ : रोशन कुमार न्यौपाने, सीईओ, एनआईसी एसिया बैंक 

हप्ताको सुरुवात आईतबारदेखि आजसम्म आईपुग्दा एनआईसी एसिया बैंकको सेयरमूल्य ६० रुपैयाँले घटेको छ। आईतबार एनआईसी रु. ८२१ सम्म पुगेको थियो। मंगलबारको क्लोजिंग प्राइस ७६४ रुपैयाँ छ। यसरी ३ दिनको अवधिमा यो कम्पनी ७% भन्दा धेरैले घटीसकेको छ। बजारमा अरु कम्पनीहरुको मूल्य उच्च रुपमा घट्दा पनि एनआईसीको मूल्य खासै घटेको थिएन। नेप्से परिसूचक २२७७ बाट १९६० सम्म झर्दा पनि यसको मूल्य रु. ८६१ बाट ७९० सम्म मात्रै खसेको थियो। बजार १८०० को आसपास आउँदा एनआइसी ६०० रुपैयाँसम्म पुगेको थियो। १८०० को बिन्दुबाट २२७७ सम्म पुग्दा धेरै बढेका बैंकहरुमध्ये एनआईसी पनि एक हो। बजारमा एनआईसीले बैङ्किङ्ग सेक्टरलाई लिड गर्छ भन्ने सेन्टिमेन्ट भएकाले एनआईसीको सेयरमा खरिदकर्ताहरु आक्रामक देखिन्थे।

तर विगत केहि दिनदेखि एनआईसीमा धेरै रिटेल ग्राहकहरु रहेका र अहिले साना व्यवसायीहरु नै मारमा परेका कारण यसको लोन डिफल्ट रेट बढ्नसक्ने र एनपीएल धेरै बढेर बैंक नै डुब्ने अवस्था आउनसक्ने भन्दै लगानीकर्ताहरु धमाधम एनआईसीको सेयर बेच्न थालेका छन्। यो प्रसङ्ग एनआईसीका प्रमूख कार्यकारी अधिकृत रोशन न्यौपानेसमक्ष राख्दा उनले हाँस्दै भने,'अहिलेको सबैभन्दा बलियो बैंक एनआईसी हो। बैङ्किङ्ग इण्डस्ट्रीमै सबैभन्दा कम एनपीए एनआईसीको छ। हाम्रा ग्राहकहरु लोयल छन्। हामीले धेरै कुराको अध्ययन गरेर मात्रै कर्जा दिएका छौं र हाम्रो लोन डिफल्ट रेट पनि निकै कम छ।' त्यस्तै उनले एनआईसी एसिया झनै व्यवस्थित ढंगले अघि बढिरहेको दावी गरे। नेपालका बैंकहरु डुब्ने अवस्था आउने सम्भावना आफूले नदेखेको पनि उनले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको