लामो प्रयासपछि सत्ता गठबन्धन मन्त्रिमण्डलको भागवण्डा टुंगो लगाउन सफल भएका छन् । उनीहरुले हिजो बुधवार नै दुई चरणमा बैठक बसी मन्त्रिमण्डलको संख्याको टुगो लगाएका हुन् ।
सहमति भएअनुसार नेपाली काँग्रेसले ८ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको दल माओवादी केन्द्रले ५ मन्त्रालय पाउने सहमति भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले २, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले २, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १-१ मन्त्रालय पाउने सहमति बनेको छ । यसैगरी, सहमति अनुसार सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्री र एक राज्यमन्त्री पाउने छन् ।
नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदैछन् । यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै छन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन् ।
यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष शिक्षामन्त्रीमा वेदुराम भुसाल बन्दैछन् । उनले आज मन्त्रीको सपथ लिनेछ्न । र, उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । स्रोतकाअनुसार प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने पक्का भएको छ। उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।
यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन । स्रोतका अनुसार उनको नाम पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेका छन । भण्डारी ती नेता हुन जो पञ्चायतदेखि गणतन्त्रसम्म आँउदा यो सहित उनी १६औ पटक मन्त्री बन्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस