Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम - ३ मा देखिएन लगानीकर्ताको आर्कषण

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १९ : २५ मा प्रकाशित

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम - ३ मा देखिएन लगानीकर्ताको आर्कषण

बिक्रम सम्बत २०७९/१२/२६ का दिनबाट सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम - ३ अन्तर्गत १० करोड २० लाख कित्ता इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्यायो। सो सूचनामा इकाई बिक्रि बन्द हुने मिति छिटोमा २०७९/१२/२९ र ढिलोमा २०८०/०१/१० हुने उल्लेख गरिएको छ। चैत्र २९ गतेसम्म निकै कम कित्ताका लागि आवेदन परेपछि कम्पनीले २०८०/०१/१० सम्म आवेदन दिन मिल्ने बनायो। यो समाचार तयार पार्दासम्म सो स्किमका लागि जम्मा ३ करोड ३६ लाख ९६ हजार कित्ताका लागि आवेदन परेको छ।  

 

अन्य म्युचुअल फण्डहरुलाई हार गुहार गर्दै कोष व्यवस्थापक

यतिबेला सिद्धार्थ क्यापिटलका कर्मचारीहरु अन्य म्युचुअल फण्डहरुलाई आफ्ना इकाईहरु किनिदिन हार गुहार गरिरहेका छन्। सर्वसाधारण लगानीकर्ताहरुले खासै चासो नदेखाएपछि उनीहरु म्युचुअल फण्डहरुसँग हात जोडीरहेका छन्। 'बिहानदेखि १० पटक भन्दा धेरै फोन गरिसके। मैले फोन उठाएको छैन। बरु ५० लाख मात्रै भएपनि हालिदिनुपर्यो, हाम्रो त बिजोग नै हुने भयो; ४२ करोड पनि उठाउन सकिएन भने त बजारमा के मुख देखाएर हिड्नु भनेर टेक्स्ट गरेका रहेछन। बजारमा यति सस्तोमा सेयर पाईने अवस्था छ; उनीहरुको फण्डमा पैसा हाल्नुभन्दा त आफै चलाइन्छ नि !', एक म्युचुअल फण्डका सीईओले अर्थसंसारलाई बताए।  

निकट भविष्यमा स्किम लिएर आउन लागेका म्युचुअल फण्ड तथा क्यापिटलहरुलाई त पछि हामी पनि सहयोग गर्छौं, अहिले हाम्रो स्किम किनिदिनु पर्यो भन्दै हत्तु हैरान पारेको बुझिएको छ। 

न्यूनतम इकाई बिक्रि हुने सम्भावना न्यून, योजना नखुल्दै खारेज हुनसक्ने 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ एक बन्दमुखी योजना हो। १२ करोड कित्ता बिक्रिमा ल्याएको यो योजनामा कम्तिमा ६ करोड कित्ताका लागि आवेदन पर्नै पर्ने हुन्छ नत्र यो योजना स्वत: खारेज हुन्छ। यदि ६ करोड कित्ताका लागि आवेदन परेन भने अहिलेसम्म यो योजनामा आवेदन गरेका लगानीकर्ताको रकम कम्पनीले फिर्ता गर्नुपर्ने हुन्छ। ६ करोडमध्ये १ करोड ८० लाख कित्ता सिद्धार्थ बैंक र सिद्धार्थ क्यापिटलले सकार्ने बताईएको छ। पब्लिकबाट आवेदन पर्नुपर्ने ४ करोड २० लाख कित्तामध्ये बैशाख ६ गते साँझसम्म जम्मा ३ करोड ३६ लाख ९६ हजार ९ सय ८० इकाईका लागि मात्र आवेदन परेको छ। बाँकी ४ दिनभित्र ८३ लाख भन्दा बढी इकाई बिक्रि गर्नुपर्ने वाध्यतामा कम्पनी रहेको छ। प्रति इकाई रु. १० पर्ने भएकाले ४ दिनभित्र ८ करोड ३० लाख रुपैयाँ उठाउनुपर्ने हुन्छ। साधारण लगानीकर्ताहरुबाट ८ करोड रुपैयाँभन्दा धेरै उठ्न सक्ने सम्भावना निकै कम रहेको र संस्थागत लगानीकर्ता तथा अन्य म्युचुअल फण्डहरुबाट उठाउन सकिनेजति पैसा उठाईसकिएकाले तोकिएको समयभित्र न्यूनतम इकाई बिक्रि हुने सम्भावना निकै कम देखिएको छ। यदि न्यूनतम ६ करोड इकाईका लागि आवेदन नपरेको खण्डमा लगानीकर्ताहरुको पैसा लामो समय फ्रिज भएर बस्ने सम्भावना रहन्छ। कम्पनीले लगानीकर्ताहरुको खातामा रकम रिफण्ड गर्दा समय लाग्ने भएकाले यस्तो सम्भावना देखिएको हो।  

लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन नसकेपछि पछिल्लो समय म्युचुअल फण्डहरु प्रति सर्वसाधारणमा नैराश्यता जागेको छ। एक्पर्टहरुले पोर्टफोलियो म्यानेज गर्ने भएकाले उच्च प्रतिफल प्राप्त हुने अपेक्षामा यसअघि म्युचुअल फण्डहरुमा लगानीकर्ताहरुको आकर्षण हुने गर्दथ्यो। तर म्युचुअल फण्डका उच्च तहका कर्मचारीहरुले आफूले महँगोमा किनेको सेयर फण्डलाई भिडाउने, फण्डको फाइदा भन्दा पनि आफ्नो व्यक्तिगत लाभका बारेमा बढी सोच्ने र म्युचुअल फण्डको स्रोत र नामको दुरुपयोग गरी अवाञ्छित फाइदा उठाउने ध्याउन्नमा मात्र लाग्ने प्रवित्तिले म्युचुअल फण्डहरुको प्रतिफल निकै न्यून हुने गरेकाले म्युचुअल फण्डहरुमा पैसा हाल्न लगानीकर्ताहरुले नाक खुम्च्याउन थालेका छन्।  

सच्याइएको

यस अघि कोष प्रवर्द्धक र कोष व्यवस्थापकले नै हालेनन् पैसा भन्ने समाचारमा उल्ल्लेख गरेको  सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने भनिएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम - ३ मा कोष प्रवर्द्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले १२ करोड पैसा हालेका छैनन् भन्ने लेखिएकोमा उक्त पैसा फण्डले मेरो सेयर मार्फत नहालेको र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम - ३ कै खाता खोलि हालिएको विवरण प्राप्त भएपछि यो समाचार सच्चाएका छौ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको