Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र ओरालो लाग्नु चिन्ताजनक : ओली

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, ०७ : ०० मा प्रकाशित

अर्थतन्त्र ओरालो लाग्नु चिन्ताजनक : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट परेका छन्  ।

“देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने । 

नेकपा (एमाले) पाँचथरले शनिबार फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताए । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उनले जोड दिए ।

“अब लोगो झुन्ड्याएर, सङ्गठनमा बसेरमात्रै हुँदैन । एमालेका नेता, कार्यकर्ता जनतामा जानुपर्छ । पार्टीले सबै सङ्गठनलाई चुस्तदुरुस्त र सक्रिय ढङ्गले चलाउनु पर्छ”, उनले भने , “यो सबै काम पार्टी सङ्गठन बनाउन, चुनाव जित्नका लागि होइन । यो देशलाई ठीक ढङ्गले चलाउनका लागि आवश्यक परेको हो ।”

अध्यक्ष ओलीले श्रमलाई घृणा नगर्न र सबै प्रकारका श्रममा जोडिन कार्यकर्तालाई आग्रह गरे  । उत्पादनलाई विशेष जोड दिई उत्पादन हुनसक्ने खाद्यवस्तुमा आत्मनिर्भर बनेर उदाहरणीय बन्न उहाँ पार्टी सदस्यलाई सुझाव दिनुभयो । गरिबी, पूर्वाधारको अभावजस्ता समस्याको अन्त्य गर्दै देशलाई परिवर्तन गर्न आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको उनले स्मरण गर्नुभयो ।

प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले हिजो आयोजित कार्यक्रममा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने स्पष्ट पारे । “विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । बालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्”, ओलीले भन्नुभयो, “मैले विद्यालय उद्घाटन गरेँ, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन ।

एमाले संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक विधिबाट आफ्ना असन्तुष्टिलाई सम्बोधन गर्न सक्ने बताउनुभयो । आफूहरूलाई लक्षित गरी भएको विरोधलाई अन्यथा नलिएको बताउँदै नेम्वाङले सबै समस्याको उठान समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको