Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई भ्रम छ : नयाँ स्टक एक्सचेञ्ज आए बजार बढ्छ

निशा हुमाँगाई

मंगलबार, १९ बैशाख २०८०, १९ : ०९ मा प्रकाशित

लगानीकर्तालाई भ्रम छ : नयाँ स्टक एक्सचेञ्ज आए बजार बढ्छ

यतिबेला नेपाली लगानीकर्ताहरू दुई मतमा विभाजित भएका छन् । लगानीकर्ता यसरी विभाजित हुनुको सन्दर्भ हो "नयाँ स्टक एक्सचेञ्ज" । नेपालमा नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रकृया अगाडि बढिरहँदा नयाँ स्टक एक्सचेञ्जको आवश्यकताप्रति लगानीकर्ताहरू पक्ष र विपक्ष भई दुई मतमा विभाजित देखिएका छन् ।

यसो त अहिले मात्रै लगानीकर्ताहरू नयाँ स्टक एक्सचेञ्जको पक्ष र विपक्षमा उभिएका होइनन् । नयाँ स्टक एक्सचेञ्जको कुरा उठेर नियामक निकाय नेपाल धितोपत्र बोर्डले दरखास्त आह्वान गरे बेलादेखि नै यस विषयमा विवाद सुरू भएको थियो । विवाद मात्र नभएर सर्वोच्च अदालतमा यसको विरूद्धमा मुद्धा दायर भयो । अहिले आएर सर्वोच्चले बाटो खोलिदिएपछि नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रकृया पुन अगाडि बढेको छ ।

 नयाँ स्टक एक्सचेञ्जका लागि कुल ३ वटा आवेदन परेकोमा धितोपत्र बोर्डले  एउटा स्टक एक्सचेन्जलाई लाइसेन्स दिने भएको छ । सोही प्रयोजनका लागि यसै साता मात्रै बोर्डले मूल्याङ्कन समिति गठन गरेको छ । धितोपत्र बोर्डको यही आइतबार बसेको सञ्चालक समितिको बैठकले  कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्याङ्कन समिति बनाएको हो । समितिको सदस्यमा अर्थमन्त्रालयको तर्फबाट रितेश कुमार शाक्य, राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक मुकुन्द कुमारी क्षेत्री रहेका छन् । सो समितिको सदस्यमा बोर्डका कार्यकारी निर्देशक मुक्तिानाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी पनि रहेका छन् । उक्त समितिले आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन गरी सिफारिस सहित बोर्डको सञ्चालक समितिमा मूल्याङ्कन प्रतिवेदन पठाउनेछ । त्यसपछि बोर्डले कम्पनीलाई लाइसेन्स दिनेछ । 

एकातिर जतिसक्दो छिट्टै नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि सेबोन निरन्तर लागिरहँदा अर्कोतर्फ विवाद भने रोकिएको छैन । अझै पनि यस प्रकृयालाई भाँजो हाल्ने प्रयास भई नै रहेका छन् । अब त संसदमा पनि नयाँ स्टक एक्सचेञ्जको विपक्षमा आवाज गुञ्जिन सुरू भएको छ ।

केही दिन अघि मात्रै संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नयाँ स्टक एक्सचेन्सलाई लाइसेन्स दिने प्रक्रिया अभिलम्ब रोक्नुपर्ने बताएकी छिन् । गत शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी थिइन् । उनले भनेकी थिइन्, "सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रति वर्ष लगभग एक अर्ब रुपैयाँ लाभांश योगदान गरिरहेको थियो । यस्तो संथालाई कमजोर बनाई यसबाट भइरहेको बिजनेस नयाँ स्टक एक्सचेन्जमा डाईभर्ट गरी नेपालको पूँजी बजार निश्चित समूहको कब्जामा हुने गरी जुन नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने तयारी गरिरहेको छ यो अबिलम्ब रुपमा रोकिनुपर्छ ।"

संसदमा उनले दिएको यस अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरूले चर्को आलोचना गरिरहेका छन् । चुनावी घोषणापत्रमा "नेपालमा दोस्रो स्टक मार्केटको स्थापना" भनेर समेटिएको तर अहिले आएर भने संसदमा यसको विरूद्धमा आवाज किन उठाइयो भन्दै लगानीकर्ताहरूले प्रश्न गरिरहेका छन् ।

आफ्ना अथक प्रयास, अनेकौँ आन्दोलन र ज्ञापनपत्रपछि पनि नेपाल स्टक एक्सचेञ्जको सिस्टम तथा सफ्ट्वेयरमा कुनै सुधार र परिवर्तन नभएपछि लगानीकर्ताहरू आजित भइसकेका छन् । यस्तो बेलामा नयाँ स्टक एक्सचेञ्ज आउनु भनेको नयाँ अवसर सृजना हुने आम लगानीकर्ताको धारणा छ । यद्यपी अझै पनि केही लगानीकर्ताहरूले भने नयाँ स्टक स्थापना गर्नुभन्दा अहिले भइरहेको स्टकको सुधार गर्नुपर्ने बताइरहेका छन् ।

यो त भयो नयाँ स्टक एक्सचेञ्जको स्थापना, प्रकृया र विवादका कुरा । तर यसैबीच पछिल्ला दिनहरूमा नयाँ स्टक एक्सचेञ्ज आउने पक्कापक्की भएपछि लगानीकर्ताहरूबीच नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्छ भन्ने भ्रम भनौँ वा आशा पैदा भएको देखिन्छ । यसमा कत्तिको यथार्थता छ त ? स्टक एक्सचेञ्ज आउँदैमा बजार बढ्ने होकी यो लगानीकर्ताहरूको मनोविज्ञान मात्रै ?

धेरै लगानीकर्ताको धारणा नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्छ भन्ने रहेको छ, साँच्चै हो त ? की यो  लगानीकर्ताको भ्रम हो ? यही विषयमा केन्द्रित रही हामीले केही लगानीकर्ताहरूसँग उनीहरूको धारणा बुझेका छौँ । लगानीकर्ताहरूको धारणा तल प्रस्तुत गरिएको छ :

तुलसीराम ढकाल (अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम)

"नयाँ स्टकले पूँजी बजारको विकास गर्छ"

नेपालमा अहिले भइराखेको स्टक परम्परागत पाराको भयो, यसले नयाँ प्रविधि भित्र्याउन सकेन, काम पनि चुस्त दुरूस्त गर्न सकेन, यसका ल्याकिङहरू पनि धेरै छन्, कुनै पनि डिसिजन गर्नुपर्यो भने समयमै डिसिजन नहुने जसले गर्दाखेरी आम लगानीकर्ताहरूले जुन किसिमको सेवा सुविधा पाउनु पर्थ्यो त्यो पाउन सकेनन् । त्यसले गर्दा खेरी नयाँ स्टक एक्सचेञ्जको माग राखिएको हो । हिजो हामी ढुङ्गे युगमा थियौँ पूँजी बजार पनि ढुङ्गे युगमै थियो । बिस्तारै बिस्तारै बामे सर्दै सर्दै गएर हामी अहिले प्रविधिमैत्री भएका छौँ । प्रविधिमैत्री त भयौँ तर हामीले जुन किसिमको प्रविधि भित्र्याउनुपर्थ्यो त्यो भित्र्याइएन । हिजो २ ३ करोडको कारोबार हुँदा जुन प्रविधी थियो आज २२ अर्बको कारोबार हुँदा पनि त्यही प्रविधी छ । अलिकति कारोबार बढ्यो भने लगानीकर्ताहरूले प्रविधिबाट धोका पाएको धेरै अवस्था छ । नेप्सेलाई बारम्बार नयाँ प्रविधी भित्र्याउन माग गर्दा सुनिएन । त्यस कारणले गर्दा जुन किसिमले पूँजी बजारले फड्को मार्नुपर्थ्यो त्यो मार्न सकेन । प्रतिस्पर्धाको लागि भएपनि नयाँ स्टक जरूरी थियो । नयाँ स्टक आउँदा नीजी हुन्छ, नयाँ प्रविधिहरू आउँछ, नयाँ तरिकाको म्यानेजमेन्टहरू आउँछ, दुर दराजमा भएका लगानीकर्ताहरूले पनि लगानी गर्न पाउँछन् जसले गर्दा पूँजी बजारको अझ विकास हुन्छ । सँगसँगै आम लगानीकर्ताहरू त्यसबाट बेनिफिटेड हुन्छन् । नयाँ स्टक एक्सचेञ्ज आइसकेपछि प्रतिस्पर्धा भएर झन अझ बढी मुनाफा कमाउँछ झन् त्यसले धेरै सर्भिस दिन्छ र झन् धेरै बेटर भएर जान्छ ।

तारा फुल्लेल (कार्यवाहक अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल)

"बजार बढ्ने र घट्ने प्रकृया अर्कै हो, स्टक एक्सचेञ्जले वातावरण चाहीँ सृजना गर्छ"

नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्ने र नबढ्ने भन्दा पनि समग्र पूँजी बजारको लागि त्यसले कस्तो खालको एउटा वातावरण सृजना गर्छ भन्ने कुरा हो । बजारमा जति धेरै भन्दा धेरै टुल्सहरू स्टक एक्सचेञ्जहरूदेखि लिएर ब्रोकरहरू थपिन्छन् ती सबै प्रतिस्पर्धी भएर आउँछन् । सेवा सुविधाको सबालमा धेरै भन्दा धेरै सुधार हुन्छ । बजार बढ्ने र घट्नेको प्रकृया अर्कै हो यो स्टक एक्सचेञ्ज आउनु भनेको समग्र सेयर बजारको इन्डस्ट्रीलाई राम्रो गर्छ भन्ने हो । बजारको लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक थियो र आवश्यक छ । यसले समग्र बजारका लागि भोलिका दिनहरूमा धेरै राम्रो कार्यक्रमहरू ल्याउन सक्ने क्षमता हुन्छ प्राइभेट स्टक एक्सचेञ्जमा त्यसले समग्र बजारमा राम्रो गर्छ, लगानीकर्ताको हितमा काम गर्छ । किनकी हामीसँग सरकारी एउटा स्टक एक्सचेञ्ज छ । प्राइभेट र सरकारी स्टक एक्सचेञ्जको कम्पीटीसन हुँदा खेरी राम्रा योजनाहरू आउँछन् ।

दुर्गा तिवारी, लगानीकर्ता

"नयाँ स्टक आउँदैमा बजार बढ्दैन, परिस्थिती मिल्नुपर्छ"

नेपालको सेयर बजार एउटा चक्रिय प्रणालीमा चल्छ । बजारमा स्टक एक्सचेञ्ज नयाँ आएर मात्रै बजार बढ्ने भन्ने होइन बजारमा पैसा, लिक्विडिटीको अवस्था, ब्याजदरको अवस्था तिनीहरूले पनि बजार बढ्ने वा घट्नेमा निर्धारण गर्छ । नयाँ स्टक एक्सचेञ्ज आयो भने नयाँ नयाँ इन्स्ट्रुमेन्टहरू आउँदै गर्दाखेरी बजार एक किसिमको चलायामान हुन्छ । भोलिका दिनमा नयाँ स्टक एक्सचेञ्ज आउँदैमा बजार सधैँ बढिरहने भन्ने हुँदैन । अमेरिकामा पनि इन्डेक्स घटिराको हुन्छ इन्डियामा पनि बजार घटिरहेको हुन्छ विश्वको कुनै पनि सेयर बजार झर्ने वा बढ्ने भइरहेको हुन्छ । तर नयाँ स्टक एक्सचेञ्जले प्रविधी चाहीँ भित्र्याउँछ त्यसले बजार माथि लैजान सहयोग चाहीँ गर्छ । नयाँ स्टक एक्सचेञ्जको माग धेरै पहिलादेखि आइरहेको हो । पुरानै स्टक एक्सचेञ्जलाई निजीकरण गर्ने, स्तरोन्नती गर्ने भन्ने कुरा भइराखेकै थियो । सेयर बजारमा क्विक डिसिजन लिनुपर्ने हुन्छ तर नेपालमा सरकारी निकायहरूमा काम गर्ने ढिलासुस्ती हुन्छ । विश्वमा भइरहेको प्रविधिको परिवर्तनसँगै नयाँ नयाँ कुरा भित्र्याउनु पर्ने ठाउँ हो । तर पूँजी बजार राज्यको प्राथमिकतामा कहिल्यै नपर्ने हामीले देखिरहेका छौँ । त्यसले गर्दा निजी क्षेत्रबाट स्टक एक्सचेञ्ज आउँदा अहिलेको एक्काइसौँ शताब्दीको नयाँ युग सुहाउँदो प्रविधिले सम्पन्न सबैलाई धान्न सक्ने पृथक ढङ्गले आउँछ । नियमन गर्ने काम त धितोपत्र बोर्डको हो भोलिको दिनमा निजी क्षेत्रको नियमन चाहीँ कडा हुनुपर्छ । किनकी राज्यको अर्थतन्त्रको मेरूदण्ड हो पूँजी बजार यसको नियमन गर्न धितोपत्र बोर्ड एकदमै स्ट्रङ हुनुपर्छ । निजी क्षेत्रबाट स्टक एक्सचेञ्ज आउँदा खेरी सरकारी निकायबाट चलिरहेको स्टक एक्सचेञ्जलाई पनि सुध्रिन र समय साक्षेप काम गर्न प्रेसर क्रिएट हुन्छ ।

केशव कोइराला (काका)

"नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्छ भन्नु धेरै ठूलो भ्रम र सानो यथार्थ"

नेपालमा अब नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्छ भन्नु धेरै ठूलो भ्रम र सानो यथार्थ हो । जस्तै ब्रोकर संख्या खुल्ला गरेपछि नयाँ ब्रोकरहरू आएपछि बजार बढ्छ भनेर जुन आम धारणा थियो खोल्दियो र १६ वटालाई त धितोपत्र बोर्डले अनुमति नै दिइसक्यो खै त आज बजार बढेको ? एउटा के हुन्छ भने बियरिस बजारमा जब चरम बियरिसतिर बजार गुज्रिरहेको हुन्छ त्यतिबेला लगानीकर्ताहरूलाई सानोतिनो कुराहरूले पनि यसले चाहीँ बजार बढाउँछ की भन्ने आश हुन्छ । त्यतिखेर राम्रो निर्णय होस् वा नराम्रो    निर्णय होस् त्यसले बजार बढाउँछ भनेर लगानीकर्ताहरूले त्यो कुरालाई एसेप्ट गरिरहेका हुन्छन् । ब्रोकर संख्या थपिनुपर्छ भन्ने हाम्रो धेरै पहिलादेखिको माग थियो थपियो यसले आज बजार नबढेपनि भोलि बजार बढाउँछ अनि अब एक्सचेञ्जले पनि त्यस्तै हो । अहिलेको समय साक्षेप विदेशी एक्सचेञ्जहरूले जुन किसिमको सेवा सुविधाहरू दिईराखेका छन् त्यो किसिमको सेवा हाम्रो नेप्सेले दिन नसकेको पक्कै हो । तर त्यसको दोष नेप्सेको मात्र हैन । नेप्से नियमन गर्ने धितोपत्र बोर्ड, अनि नेप्सेमा सञ्चालकहरू पठाउने टेलिकम, नागरिक लगानी कोष, धितोपत्र बोर्डको पनि मान्छे होला अर्थ मन्त्रालयले पनि मान्छे पठाएको होला, अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेको छ । ती सबैले भएर नगरेका होइनन् र ? नेप्से त एउटा संस्था हो यी सबै मिलेर गर्न चाहे भने हामीलाई चाहिएको कुरा यही नेप्सेबाट आउटपुट दिन सक्दैनन् र सक्छन् नी । तर के छ भने नियतबस यो नेप्सेलाई पाखा लगाएर, यसलाई यतिक्कै किल गरेर नयाँ प्राइभेट फर्म ल्याएर लाईसेन्स बाँडेर पैसा खाएर मिलेमतोमा यो गर्न थालिएको हो ।

दिपेन्द्र अग्रवाल, लगानीकर्ता

"नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्नु भनेर विश्वास गर्नु भ्रम हो, यसमा लाेजिक छैन"

नयाँ स्टक एक्सचेञ्ज आएपछि बजार बढ्नु भनेर विश्वास गर्नु भ्रम हो, यो कुन लोजिक भयो । स्टक एक्सचेञ्ज आएर बजार बढ्ने होइन । बजार बढ्नलाई राम्रा नीति नियम चाहिन्छ स्टक एक्सचेञ्ज त अलरेडी छ नी । अहिले लाइसेन्स भ्रष्ट्राचारको अखाडो भएको छ । बिस्तारै लाइसेन्स बाँड्ने कुरामा त यीनीहरूलाई घुस खुवायो भने भोलि राष्ट्र बैंकको पनि लाइसेन्स बाँडदिन्छन् अनि घुस पायो भने नेपाल सरकारको पनि लाइसेन्स बाँडदिन्छन् यिनीहरूले । त्यसैले स्टक आउँदैमा बजार बढ्दैन । बजार बढ्न नीति नियमहरूको सुधार हुनुपर्छ ।

हामीले माथि केही लगानीकर्ताहरूको धारणा त बुझिहाल्यौँ । पक्कै नै नयाँ स्टक एक्सचेञ्ज आउँदैमा बजार बढ्ने होइन । यो लगानीकर्ताहरूमा भएको एउटा भ्रम मात्रै हो । बजार बढ्न सकारात्मक माहोल, बजारमैत्री निती तथा नियमहरू र लगानीकर्ताको मनोबल बढाउन सोही किसिमको राज्यको प्रोत्साहन समेत चाहिन्छ । यी सबै कुराहरू भए मात्रै बजार बढ्छ । स्टक एक्सचेञ्ज नयाँ आउँदा सेवा सुविधा सुधार होलान् तर नयाँ स्टक एक्सचेञ्ज आउँदैमा बजार बढ्छ भन्ने चाहीँ हुँदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको