अर्थ संसार, काठमाडौं– नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग पार्टी एकताको प्रस्ताव आफैले राखेको खुलासा गर्नुभएको छ ।
सो पार्टीको आज यहाँ आयोजित पार्टी पोलिटव्यूरो राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्नुहुँदैै उहाँले सो कुराको खुलासा गर्नुभएको हो ।
नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याउनु भएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकतासम्मको निर्णयमा पुग्न सफल भएको अध्यक्ष दाहालको भनाइ थियो ।
पोलिटव्यूरो सदस्यमाझ अध्यक्ष दाहालले भन्नुभयो ‘ समाजवादी क्रान्तिका लागि घिसेपिटे तवरले चल्दैन भन्नेमा हामी पनि पुगेका थियौ । एमालेका तर्फबाट पनि वामपन्थी आन्दोलनलाई नयाँ आधारमा अगाडि बढाउने भन्ने प्रस्ताव आयो । उहाँहरु माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने तहमा आइपुग्नुभयो र एकता संयोजन समिति गठन भयो ।’
उपाध्यक्ष वामदेवसँग आफ्नो लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र सो सम्बन्धले पनि एकता प्रक्रियामा सहयोग पुगेको भन्दै अध्यक्ष दाहालले विगतमा पनि तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र झलनाथ खनालसँग पार्टी एकताका विषयमा पटक पटक छलफल भएको स्मरण गर्नुभयो ।
संविधानले व्यवस्था गरेको समाजवाद लागू गर्न पनि सानो तिनो शक्तिे काम नगर्ने भन्दै उहाँले वृह वाम ध्रवीकरणले मात्रै नेपाली जनताको सो महान लक्ष्य प्राप्त हुने विश्वासका साथ एकता प्रक्रिया अगाडि बढाउन आफुहरु सहमत भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले पार्टी एकतालाई समयको आवश्यकता र राष्ट्रिय चाहनाको संज्ञा पनि दिनुभयो । उहाँले भन्नुभयो ‘ माओवादी भित्र कसरी भयो यस्तो सोच्दै नसोचेको काम भन्ने आशंका छ । यो सफल हुन्छ त भन्ने चिन्ता र चासो पनि छ । तर चुनौती उठाएरै एकता प्रक्रियामा सहभागी हुन लागिएको हो । यसले नेपाल र नेपाली जनताको हित गर्दछ । आशंका गर्नुको कुनै अर्थ रहँदैन ।’
स्थानीय तहको निर्वाचनको क्रममा नै एमालेबाट तालमेलको प्रस्ताव आएको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले चार महानगर मध्ये दुई दुर्ई वटा बाँडौ भन्ने विषयमा कुरा भएपनि त्यतिखेर कुरा मिल्न नसकेको भएपनि हाल आएर सफल भएको उहाँको धारणा थियो ।
उहाँले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने लक्ष्यका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर, नेपालका कम्युनिष्टहरुलाई जनताको अपार समर्थन र विश्वास छ । त्यसलाई मर्न दिनु हुँदैन । विभिन्न धारामा रहेका कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याएर मात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ ।
समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिवद्धतासहित पार्टी एकताको तयारीमा जुटेका छौं । यो हामी सबैका लागि महान् बहस हो।’
‘पार्टी एकता कसैले कसैलाई निल्ने विषय होइन, यो त समान उद्देश्यका लागि वैचारिक एकतासहित नयाँ उचाईमा पुग्ने प्रक्रिया हो’, प्रशिक्षणमा अध्यक्ष दाहालले भन्नुभयो, ‘हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन्, त्यसमा अडिएर एकता हुँदैन ।
एमाले–माओवादी दुवैले महान बहसको प्रक्रियाद्धारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । हामी आफै पनि रुपान्तरणको प्रक्रियामा छौं, कम्युनिष्ट आन्दोलन र सिङ्गो राष्ट्रलाई रुपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ ।’
‘हाम्रो चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध छैन, नेपालमा वैचारिक धारामा नजिक रहेका पार्टीहरु मिल्दा नै देश र जनताको हित हुने उहाँको ठहर थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट क्रान्तिकारी र बामपन्थीहरुको एकता राष्ट्रको हितमा भएको बताउनु भयो । प्रशिक्षणमा बोल्दै नेता श्रेष्ठले भन्नुभयो, ‘स–साना समूहमा रहेर समाजवादको कार्यभार पुरा गर्न सकिँदैन ।
समाजवादका पक्षधर सम्पूर्ण शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको बिकल्प छैन । हाम्रो एकता र सहकार्यको प्रयास राष्ट्रको हितमा छ । यो प्रयासलाई खुट्टा नकमाइकन एकतामै लागे संकल्प गर्नुपर्छ ।’
प्रशिक्षणमा बोल्दै अर्का नेता रामबहादुर थापाले पार्टी एकता एमालेको माओवादीकरण र माओवादीको एमालेकरण नभएको बताउनु भयो ।
नेता बादलले भन्नुभयो, ‘बजारमा माओवादीको एमालेकरण वा एमालेको माओवादीकरण जस्ता प्रायोजित विषय उठाइएको छ । माओवादी एमालेमा विलय हुने होइन, एमाले माओवादीमा बिलय हुने कुरा पनि होइन । बरु, दुवैले आफ्ना दृष्टिकोण र मान्यताबाट माथि उठेर क्रान्तिको नयाँ सिद्धान्त निर्माण गर्ने र नयाँ पार्टी निर्माण गर्ने हो ।’
प्रशिक्षणमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षामान पुन, मातृका यादव, पम्फा भुसाल, लेखराज भट्ट, हितमान शाक्य लगायतका नेताहरुले जोखिम मोलेर मात्रै देशको राजनीति र जनताको जीवनमा कायापलट गर्न सकिनेमा जोड दिँदै महान् बहसको माध्यमद्धारा एकतालाई तार्किक निष्कर्षसम्म लैजानुपर्ने बताउनु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस