२०७६ पुष २८ मा जब चीनको वुहान प्रान्तबाट एक विधार्थी नेपाल फर्किए र उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखियो। त्यसपछि नेपालमा पनि सर्जित जोखिमले नेपालको एकातिर लगानी गर्ने स्रोतमा भएको बञ्चितीकरणले धेरैलाई सेयर बजारमा प्रवेश गरायो।
धेरै जना त्यो पनि एकै पटक बजारमा लोभलाग्दो पूंजी लिएर छिरेपछि लगानीकर्ताले २०७८ भदौ २ गते नेप्से झण्डै ३२०० अंक नजिक पुगेको देखे। त्यो दिन बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो।
२०७८ भदौ २ गते नेप्सेले इतिहास कायम गर्यो। त्यसदिन नेप्से परिसूचक ३१९८.६० मा पुग्यो। छोटो समयमा पुँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए। दिनमा २१ अर्बसम्मको कारोबार भयो।
त्यसै समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत रुपमा रु ४ करोड र परिवारका थप तीन जनाले रु १२ करोड बराबर मात्रै सेयर धितो कर्जा लिन पाउने नीति लिएपछि सेयर बजारमा राम्रै हलचल ल्यायो।
त्यसपछिका राष्ट्र बैंकका केहि नीति नियम परिवर्तन र रुस युक्रेन युद्धपछि सिर्जना भएको तरलता संकुचन पछि नेप्सेले आफ्नो हिडिरहेको बाटो फेर्यो र अहिले वैशाख २१ २०८० गत सम्म आइपुग्दा नेप्से १८६९.७३ अंकमा झरेको छ भने कारोबार पनि दिनको कारोबार ७३ करोडमा खुम्चिएको छ।
सेयर लगानीकर्ता त्यसबेला देखि अहिले सम्म पनि केन्द्रीय बैंक नेपालका कारण सेयर बजार लगानी मैत्री नभएको भन्दै असन्तुस्टि व्यक्त गर्छन।
बजार सुस्ताएको छ। अहिले बजारमा रहेका लगानीकर्ता कमाउने कम गुमाउन धेरैछन्। नेप्से उकालो लाग्दा बजारमा प्रवेश गर्ने लगानीकर्ता ओरोलो लागेको बजारमा देखिदैनन । कुनै बेला २१ अर्ब कारोबार भएको बजारमा अहिले बजारबाट पैसा हराएको देखिन्छ। आखिर सेयरबजारमा लगानी भइरहेका वा लगानी हुन पर्ने पैसा बजारबाट एकाएक कता कहाँ हरायो ?
यस विषयमा अर्थसंसार यस साताभर बजारका लगानी योग्य पैसा कता कहाँ हरायो ? कता फसेका छन् भन्ने साताभर खुलासाहरु गर्दैछ
सेयरबजारको पैसा हरायो-१ : फिक्सडमा म्युचुअल फण्डको ३ अर्ब माथिको डिपोजिट
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्ड पनि एक वित्तीय औजार मानिन्छ । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ ।
सामान्यत म्युचुअल फण्डहरुलाई बजार निर्माताका रुपमा व्याख्या गर्ने गरिन्छ । तर पछिल्लो समय म्युचुअल फण्डहरूको हर्कत देख्दा भने त्यस्तो लाग्दैन । समग्र बजार र लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा बजारलाई सम्हाल्ने भुमिका संस्थागत लगानीकर्ताहरुबाट अपेक्षा गरिएको हुन्छ । नेपालमा कुनै पनि कम्पनीले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्दा ५ प्रतिशत सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरूलाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।
आजकाल भने लगानीकर्ताहरूले आईपीओमा म्युचुअल फण्ड अर्थात् संस्थागत लगानीकर्ताहरूका लागि छुट्ट्याइएको कोटा सिस्टम खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । किनकी म्युचुअल फण्डहरूले बजार सम्हाल्नुको सट्टा उल्टै चलखेल गरेको पाइन्छ । नयाँ कम्पनीहरूको बजारमा कारोबार सुरू भएको दिन नै आईपीओ बेच्न म्युचुअल फण्डहरूको तछाड मछाड हुन्छ । म्युचुअल फण्डहरूले कोटामा पाएको आईपीओ पनि एक दिन त के एक घण्टा पनि टिकाउन नसकेका धेरै उदाहरणहरू हामीसँग छ ।
आईपीओ बेची मात्रै नभएर अनेकौँ नाममा चलखेल गरी दोश्रो बजार नै प्रभावित पार्ने म्युचुअल फण्डहरूले फिक्सड डिपोजीट अर्थात मुद्दती निक्षेपमा अर्बौँ रूपैयाँ जम्मा गरेको देखिन्छ । चैत्र महिनामा म्युचुअल फण्डहरूले सार्वजनिक गरेका रिपोर्ट नियाल्दा ३२ वटा म्युचुअल फण्डहरूको कुल ३ अर्ब ३५ करोड ३३ लाख ६१ हजार २ सय ७४ रूपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा जम्मा भएको देखिन्छ । ३२ वटामध्ये २ वटा म्युचुअल फण्डहरूले भने चैत्र महिनामा मुद्दती निक्षेपमा कुनै रकम जम्मा गरेका छैनन् ।
जनताबाट संकलन गरेको रकमलाई बैंकको निक्षेपमा लगानी गरी ब्याज खान म्युचुअल फण्डहरू पल्किएका छन् । मानौ सेयरबजारमा लगानी हुन् पर्ने ३ अर्ब माथिको पैसा अहिले म्युचुअल फण्डहरूले फिक्सडमा जम्मा भएको देखिन्छ। सेयर बजार निरन्तर ओरालो लागेका बेला बैंकको निक्षेपमा पैसा जम्मा गरी ब्याज खान्छन् । स्थिर आय हुने क्षेत्रमा लगानीको नाममा फण्डको अर्बौ पैसा फिक्सडमा रहदा केहि हद सम्म बजारमा लगानी हुनै पर्ने पैसा बजारबाट हराएको देखिन्छ। अनि जबजब बजार बढ्न थाल्छ तबतब भने म्युचुअल फण्डहरूले मुद्दती निक्षेपमा लगानी गर्ने रकम घट्दै जान्छ । यो कुरा हामीले बोल्नु भन्दा पनि हरेक महिना म्युचुअल फण्डहरूले निकाल्ने रिपोर्ट राम्ररी नियाल्यौँ भने तथ्याङ्कले बताउँछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस