Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डद्वारा जारी निर्देशिकाको धज्जी उडाउँदै लिवर्टी ईनर्जी

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १७ : २६ मा प्रकाशित

धितोपत्र बोर्डद्वारा जारी निर्देशिकाको धज्जी उडाउँदै लिवर्टी ईनर्जी

लिवर्टी ईनर्जी कम्पनी लि. (LEC) ले धितोपत्र बोर्डको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को धज्जी उडाउँदै एउटै व्यक्तिलाई कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी नियुक्त गरेको छ। अध्यक्ष र कार्यकारी प्रमुख अलग अलग व्यक्ति हुनु पर्ने भन्ने व्यवस्थालाई लत्याउँदै डा. आत्माराम घिमिरेलाई कार्यकारी बनाईएको हो। 

धितोपत्र बोर्डले जारी गरेको सूचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को परिच्छेद - २ को दफा १२ मा अध्यक्ष र कार्यकारी प्रमुख अलग अलग व्यक्ति हुनु पर्ने भन्ने व्यवस्था गरिएको छ। संचालक समितिको नेतृत्व गर्ने र यसको निरन्तर संचालनको सुनिश्चितता लगायत नियमित रुपमा संचालक समितिको वैठक संचालन गर्ने कार्य अध्यक्षले गर्नुपर्ने हुन्छ भने संस्थाको व्यवस्थापकीय, प्रशाशनिक र आर्थिक विषयको सम्पूर्ण काम कारबाही तथा जिम्मेवारी कार्यकारी प्रमुखको रहने गर्दछ। यी दुवै पदमा एकै व्यक्ति रहँदा स्वार्थ बाझिन गई संस्थाको काम कारबाही प्रभावकारी रुपमा नहुने प्रबल सम्भावना रहने हुँदा बोर्डले यस्तो व्यवस्था गरेको हो।
  
तर लिवर्टी ईनर्जीले अध्यक्ष र कार्यकारी प्रमुख एउटै व्यक्तिलाई बनाएर यो नियमको उपहास गरेको देखिन्छ। संस्थाको २०८०/०१/२५ मा सम्पन्न भएको आर्थिक वर्ष २०७६/७७, ०७७/७८, र ०७८/७९ (एघारौँ, बाह्रौँ र तेर्हौं ) वार्षिक साधारण सभाले चयन गरेको संचालक समितिको बैठकले डा. घिमिरेलाई कार्यकारी अध्यक्षमा चयन गरेको हो। कार्यकारी अध्यक्ष भन्नाले कार्यकारी प्रमुखलाई जनाउँदछ। संचालक समितिको अध्यक्ष कार्यकारी प्रमुख हुनु नहुने धितोपत्र बोर्डको स्पष्ट व्यवस्थालाई कम्पनीले चुनौती दिएको देखिन्छ।  

यस सम्बन्धमा कम्पनीमा बुझ्दा आफूहरुको नियमावलीमा अध्यक्ष र कार्यकारी प्रमुख एउटै व्यक्ति हुनु नहुने भन्ने व्यवस्था नरहेका कारण डा. घिमिरेलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको प्रतिकृया प्राप्त भएको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको