Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

निशा हुमाँगाई

बुधबार, २७ बैशाख २०८०, ०७ : २७ मा प्रकाशित

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । २१ महिनादेखि बजार लगातार घटिरहँदा लगानीकर्ताहरू प्यानिक बनिसकेका छन् । यही सन्दर्भमा हामीले बजारका अनुभवी लगानीकर्ता एवमं विश्लेषकहरूसँग सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताहरूले चाल्नुपर्ने कदमबारे कुराकानी गर्ने भएका छौँ ।

आज हामीले नेपाली पूँजी बजारका पुराना एवंम अनुभवी लगानीकर्ता छोटेलाल रौनियारसँग कुराकानी गरेका छौँ । उनी नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष पनि हुन् । अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “अहिलेको अवस्थामा लगानीकर्ताहरू डिप्रेस्ड छन् । बजार घट्दा लगानीकर्ताहरू एकदम पीडामा छन् पैसा गुमाएका छन् । ३२ सयको बजार साढे १८ सयमा आएर बसेको छ । साढे १३ सय अंक घटिसक्यो । त्यो भनेको ६० प्रतिशत जति मार्केट घटेछ । यसमा लगानीकर्ताहरूले अहिलेसम्म करिव साढे १७ खर्ब रूपैयाँ गुमाएछन् । २१ महिनादेखि बजार लगातार घटिराछ बीचमा अलिकति सम्हालिन खोज्यो तर सम्हालिएन । अब २१ महिनादेखि बजार घटेको घट्यै छ, लगानीकर्ताहरूले गुमाको गुमाकै छन् । यसमा चाहीँ अब एउटा त सरकारको पोलिसी, ५१ वटा कम्पनीको रेड अलर्ट लिस्ट निकाल्यो सेबोनले त्यहाँबाट बजार घट्न थाल्यो, त्यसपछि केही लगानीकर्ता साथी संगठनहरूले हड्ताल गरे त्यसले पनि बजार घट्यो । सबैभन्दा धेरै बजार घटाको त राष्ट्र बैंकको २१ महिना अगाडि मौद्रिक नीति जुन आयो त्यसपछि फस्ट फलोअप सेकेन्ड फलोअपमा पनि पूँजी बजारलाई एकदम बिगार्ने गरीकन नै आयो । त्यस कारण बजार घटेकै हो । जस्तै ४/१२ को नीति, त्यसपछि सीसीडीलाई सीडी गर्ने बित्तीकै बैंकमा तरलताको अभाव घट्यो, ब्याजदर बढ्यो त्यसपछि तरलता पनि घटेर गयो । त्यसपछि जोखिम भार १०० लाई १५० गरियो, माइक्रोफाइनान्सलाई बैंकले राख्न नपाउने, माइक्रोफाइनान्सको  पहिला २० प्रतिशत पछि झन् घटाएर १५ प्रतिशत, बोनस दियो भने ५० प्रतिशत रिजर्भ सरप्लस राख्नुपर्ने गर्दियो, यी आदि इत्यादी कुराहरूले गर्दा खेरी बजार प्रभावित भयो ।

उनले थपे, “/१२ को नीतिका कारण बजारमा सप्लाई आयो । सप्लाई आएपछि बजार घट्यो । बजार घटेपछि फाइदा त कसलाई भयो र ? आम लगानीकर्ताहरू त्यसमा गृहीणीहरू छन्, विद्यार्थीहरू छन्, सरकारी कर्मचारीहरू पुलिस आर्मीको, सानातिना व्यापारीहरूको, उद्योगीहरूको, बैंक इन्स्योरेन्समा काम गर्ने कर्मचारीहरू सबैको लगानी छ । उद्योगी व्यवसायीहरूको सबै पैसा डुबेपछि तरतलामा झन् समस्या भयो, पैसा हराएर गयो ।

सेयर बजारलाई नसुधारिकन इकोनोमी छिटो राम्रो हुँदैन । किनभने यसमा उद्योगी व्यापारीहरूको पनि पैसा गुमेको छ नी । बैंकको ब्याज ॠण तिर्नलाई त्यो पैसा निकाल्नु पर्यो, हैन भने उनीहरूले तिर्न सक्दैनन् । यसले गर्दा इकोनोमीमा प्रोब्लम हुन्छ त्यसकारण समग्र रूपमा पूँजी बजार राम्रो भयो भने अहिलेको दिनमा समग्र अर्थतन्त्र राम्रो हुन्छ त्यो बुझ्नुपर्यो हाम्रो अर्थमन्त्रीज्यूले, सेबोनको अध्यक्षज्यूले, राष्ट्र बैंकको गर्भनरले त्यो अनुसारको पोलिसी बनाउनुपर्यो । अहिले त लगानीकर्ताहरूको उठीबास छ नी, रूवाबासी छ, पैसा गुमाइराछन्, पीडामा छन् । त्यो पीडा सुन्ने कसले ? धेरै गाह्रो छ, कति जना यसैलाई जीवन जीवीका बनाएर बसेका छन् उनीहरू झन् मारमा छन् । यो त अब बुझ्नुपर्यो नी, सरकार कहिले गम्भिर हुने हो ? लगानीकर्ताहरूको पैसा गयो भने त्यो देशको पैसा हैन र ? सरकार कानमा तेल हालेर बसेको छ ।“, उनले भने ।

सेयर बजारमा पोलिटिक्स धेरै हावी भएको उनको तर्क छ । पोलिटिकल अस्थिरता, मन्त्रीमण्डललाई मरिहत्ते गर्ने, आफ्नो सरकार बनाउन जुनसुकै जालसाजी गर्ने यो कारणले पूँजी बजारमा पोलिटिक्स धेरै हावी भएको उनी बताउँछन् । “लगानीकर्ताहरूको झन् झन् मनोबल गिर्दै गयो, कोही पनि माईबाप भएनन्, लगानीकर्ताहरू टुहुरा जस्तै भएका छन्, यो सबै कारणले गर्दा लगानीकर्ताहरू अहिले एकदमै डिप्रेस्ड छन्, मास साईकोलोजी विक छ । जबसम्म राम्रो कुराहरू सुधारका कुराहरू आउँदैनन्, उद्दारका कुराहरू हुँदैनन् जस्तै बेस रेट घट्यो, डिपोजिट घट्यो, ब्याजदर घटेको देखिएको छैन । त्यो नदेखेसम्म त लगानीकर्ताहरूले झन् महसुस नै गर्न सक्दैनन् नी । कार्यान्वयन नभएसम्म त्यो बादल लागेको कुराहरू पच्दैन बजारमा । टक्क लागु नभएसम्म पूँजी बजारले त्यसलाई रूचाउँदैन ।

अब मौद्रिक नीतिको समिक्षामा गर्भरनरको र आर्थिक नीतिमा अर्थमन्त्रीको तालमेल मिल्यो भने बजारमा केही सुधार देखिने उनले बताए ।

अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भने,  “अहिले त लगानीकर्ताहरूले जे जति सेयर छ आफ्नो बचाउने, जोगाउने । अनिकालमा बिउ जोगाउनु भिडभाडमा जिउ जोगाउनु भने जस्तै अहिले सेयर जोगाउने हो । अब यस्तो अवस्थामा सेयर बेच्ने कुरा आएन । बरू जोसँग ब्याजको पैसा हैन बचतको पैसा छ त्यो पैसा लगानी गरे हुन्छ । लगानी गर्ने समय हो । बजार धेरै घटिसक्यो अब घट्ने ठाउँ छैन । २०, ५० अंक तलमाथि होला त्यो भन्दा बढी घट्ने सम्भावना छैन ।  बजार भनेको २२ -२३ सय मिनिमममा बस्नै पर्ने बजार हो । धेरै घटेपनि लगानी गर्ने समय हो जस्तो लाग्छ । जोसँग पैसा छैन उनीहरूले चाहीँ आफ्नो सेयर जोगाउने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको