अर्थ संसार, काठमाडौं– महालेखा परीक्षकको कार्यालयले ताकेता गरेपछि राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले धमाधम वित्तीय विवरण बुझाउन थालेका छन् ।
कार्यलयले भदौ अन्तिमसम्ममा हालसम्मको वित्तीय विवरण नबुझाए कारवाही गरिने बताएपछि संस्थान र कम्पनीले वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्यलाई तीब्र पारेका हुन् ।
महालेखा परीक्षकको कार्यलयका अनुसार भदौ अन्तिमसम्ममा संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको वित्तीय विवरण प्रमाणित गरिसकेको छ । तर, प्रारम्भिक प्रतिवेदनको जवाफ भने आउन बाँकी रहेको बताइएको छ ।
त्यस्तै, त्यसपछिका आवदेखि आव २०७१/७२ सम्मको लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्ति भै सकेको समेत बताइएको छ । आव २०७२/७३ को वित्तीय विवरण तयारीको क्रममा रहेको कार्यलयले बताएको छ ।
त्यस्तै, राष्ट्रिय बिमा कम्पनीले भने आव २०६६/६७ देखि ३०६८/६९ सम्मको प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी रहेको र आव २०६९/७० पछिको लेखापरीक्षण गर्न लेखापरीक्षक नियूक्ति भई यथाशीघ्र लेखापरीक्षण सक्ने कार्ययोजना तयार गरेको बताएको छ ।
कार्यलयको निर्देशनपछि संस्थान तथा कम्पनीले तीव्र गतिमा लेखापरीक्षण गर्ने कार्य अगाडि बढाएको कार्यलयका नायव महालेखा परिक्षक रामुप्रसाद डोटेलले बताए ।
“तोकिएको समयमा सम्पूर्ण विवरण नबुझाए पनि संस्थानले लेखापरीक्षणको कार्यलाई तीव्र गतिमा लगेको छ । त्यसैले कारवाहीको प्रक्रियालाई थाँति राखेका छौ,” उनले भने ।
कार्यालयले संस्थानलाई गत आवसम्मको सम्पूर्ण वित्तीय विवरणको अन्तिम लेखापरीक्षण गर्न भदौ महिनासम्मको समय दिएको थियो ।
तोकिएको समयसम्ममा पनि लेखापरीक्षण नगरे व्यवस्थापिका संसद् अन्र्तगतको सार्वजनिक लेखा समितिमा कारबाहीका लागि सिफारिस गरिने कार्यलयले तयारी समेत गरेको थियो ।
संस्थान तथा कम्पनीले विगत एक दशकदेखि लेखापरीक्षण नै गरेका छैनन् । लामो समयदेखि लेखा परीक्षण नगरेकै कारण समितिले प्रमाणपत्र नवीकरणसमेत गरेको थिएन ।
तर, लाखौं बिमितको दायित्व रहेकाले समितिले व्यवसाय सञ्चालनमा भने रोक लगाउन सकेको थिएन । यद्यपी, कार्यालयको ताकेता पछि कम्पनी तथा संस्थानले भने लेखापरीक्षणको कार्यलयलाई अगाडि बढाएका छन् ।
बिमा ऐन २०४९ को दफा २३ अनुसार बिमकले प्रत्येक आव समाप्त भएको ६ महिनाभित्र बिमा व्यवसायसम्बन्धी आफ्नो सम्पूर्ण कारोबारको बासलात तथा नाफा नोक्सानीको हिसाव प्रकाशित गरी सोको एकप्रति समितिमा पेश गर्नु पर्नेछ ।
त्यस्तै दफा २५ अनुसार बिमकले आपूmले गरेका बिमा व्यवसायको हिसाब किताबको लेखा परीक्षण प्रचलित कानुनबमोजिम मान्यताप्राप्त लेखापरीक्षकद्वारा गराई यसको प्रतिवेदन प्रत्येक आव समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नु पर्नेछ ।
त्यस्तै, समितिको पछिल्लो निर्देशनअनुसार बिमकहरूले बिमांकीय मूल्यांकन गर्नको लागि आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्रै समितिसँग स्वीकृति लिनुपर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्रमा लेखापरीक्षण सहितको विवरण बुझाउनु पर्नेछ । छ महिनाभित्रमा वार्षिक साधारणसभा गरिसक्नु पर्नेछ । कारोबार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस