२ दिन अघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एक कार्यक्रममा बोल्दै सबै आईपीओको मूल्य १०० हुनु सही छैन भन्ने अभिव्यक्ति दिएका थिए ।
६० देखि ७० रूपैयाँ नेटवर्थ भएका कम्पनीको आईपीओको मूल्य १०० रूपैयाँ हुँदा कसैलाई पनि कम्प्लेन नभएकोमा उनले दुखेसो पोखेका थिए । निकट भविष्यमा चाँडै हामी फेयर मार्केट भ्यालुएसनको कन्सेप्टमा जानुपर्ने उनले बताएका थिए ।
हमालले दिएको अभिव्यक्ति साँच्चै नै सही छ । आजकाल हामी आईपीओ खुल्ने बित्तीक्कै कम्पनी जस्तो सुकै भएपनि आईपीओ भरिहाल्छौँ । कम्पनीको बारेमा वृस्तृत अध्ययन गर्न हामीलाई मन लाग्दैन । त्यसैले त १५ वर्षसम्म नेटवर्थ १०० नपुग्ने कम्पनीले निष्कासन गर्ने आईपीओमा पनि मागभन्दा धेरै गुणा बढी आवेदन पर्दछ ।
एक उदाहरण : हालै मात्रै सिटी होटलले निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ९.४३ गुणा बढी आवेदन पर्यो । अन्तिम दिनसम्म कुल ११ लाख ६१ हजार २ सय ८० जना लगानीकर्ताहरूले कम्पनीको आईपीओ भरेका हुन् । कम्पनीको विवरणपत्रमा उल्लेख भए तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९८० पुस मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ७९ रूपैयाँ ४ पैसा रहेको छ । अनि कम्पनीले नै अहिले एक सय रुपैयाँ लगानी गर्नेले उक्त लगानी उठाउन कम्तिमा अर्को १५ वर्ष कुर्नुपर्ने भनेको छ । यति हुँदाहुँदै पनि कम्पनीको आईपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन पर्यो ।
माथिको उदाहरणले के दर्शाउँछ भने अधिकांश नेपाली लगानीकर्ताहरूमा प्राथमिक सेयर सम्बन्धी चेतना स्तर अत्यन्तै कम छ । उनीहरूलाई आईपीओ किन भर्ने भन्ने नै थाहा छैन । तरकारी पसलमा र चिया गफमा १००० को लगानीबाट ५० औँ हजारसम्म कमाउन सकिन्छ भन्ने सुनेकै आधारमा लगानी गरिएको नतिजा पो होकी यो ? भनाईको मतलव हरेक लगानीकर्ताहरूले कुनै पनि कम्पनीको आईपीओ भर्नु अगावै त्यो कम्पनी कस्तो हो बुझ्नु जरूरी हुन्छ ।
हामी नेपालीहरू एक किलाे फलफूल अनि तरकारी किन्न गयाैँ भने पसलेसँग मूल्यका लागि बार्गेनिङ गर्छाैँ । ठेलामा मकै पाेलिरहेकी बुढी आमाले एउटा मकैको मूल्य ३५ रूपैयाँ भन्दा ३० रूपैयाँमा दिनु भन्नसम्म पछि हट्दैनौँ हामी । मकैँ खाँदा ५ रूपैयाँ बचाउन खोज्ने हामीले आईपीओ भर्दा चाहीँ केही नहेरी अनि नपढी मेहेनतले कमाएको आफ्नो हजारौँ लगानी लगाउन एक सेकेन्ड पनि सोच्दैनौँ ।
गृहिणीहरूले तरकारी खर्च कटाएर, श्रमिकहरूले पसिना बगाएर अनि विद्यार्थीहरूले खाजा खर्च घटाएर आईपीओ भर्ने गरेका छन् । यसरी गरिएको लगानी गलत ठाउँमा नपरोस् भन्ने हाम्रो चासो हो ।
आईपीओ भर्नु गलत हाे भनिएकाे हैन तर कम्पनीकाे बारेमा अध्ययन नै नगरी जाेखिमपुर्ण लगानी गर्नु चाहीँ पक्कै गलत हाे । आईपीओले नै धेरै व्यक्तिकाे जीवन सुधारेकाे सफलताका वास्तविक कथा पनि धेरै छन् । कम्पनीकाे बारेमा राम्ररी अध्ययन गरेर राम्रा कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूले आईपीओबाटै आफ्नो कलेज फी तिरेका र गुजारा चलाएका समाचार हामीले नपढेका होइनौँ । आईपीओमा लगानी गर्नु राम्राे पक्ष हाे । तर बुझेर मात्र । अधिकांश कम्पनी राम्रा हुँदाहुँदै पनि केही कम्पनीमा गरिने लगानीले भने हाम्राे मेहेनतकाे कमाई डुब्न अनि फस्न सक्छ ।
लगानीकर्ताहरूकाे लगानी सुरक्षित बनाउन व्यक्तिगत स्तरमा लगानीकर्ता आफैँ सचेत हुनु जरूरी छ । अनि राष्ट्रिय स्तरमा हेर्ने हाे भने सम्बन्धीत निकायहरूले चेतनामूलक कार्यक्रममा जाेड दिनु अत्यावश्यक छ । नियामक निकायले सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ लगायतका लगानीका औजारहरूको बारेमा सेयर शिक्षा प्रदान गरी आम सर्वसाधारणहरूको चेतना स्तर वृद्धि गर्नुपर्छ । र लगानीकर्ताहरूको लगानी सुरक्षित हुने वातावरण सृजना गर्नु नियामकको नाताले उनीहरूको दायित्व पनि हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस