Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको साधारण सभा सम्पन्न, लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १६ : ०४ मा प्रकाशित

प्रभु लाइफको साधारण सभा सम्पन्न, लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (शुक्रबार) कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सो सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ । जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश रहेको छ । सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गरेको छ । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । सभाले प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ । मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गरेको छ ।

सो सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आएका छन् । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादीमा रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ जेठ १२ गते सार्वजनिक विदा परेको हुँदा जेठ १० गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको