प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । आज (सोमबार) स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताएका हुन् ।
सिद्धान्त र राजनीतिक एजेन्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको उनको भनाइ छ ।
उनले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताए । उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेन्डा सहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताए । तर, अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको उनको भनाइ छ ।
उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे । प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए । ‘मैले नयाँ संकल्पका साथ अहिलेको प्रधानमन्त्रीलाई लिएको छु । सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ । यहाँ सामान्य सुधारद्वारा समस्याको हल हुने देखिँदैन,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस