Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साता बजारले कस्ताे यात्रा तय गर्ला ?

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १७ : ४५ मा प्रकाशित

आगामी साता बजारले कस्ताे यात्रा तय गर्ला ?

लगातार घटेर बढ्न खोजेको बजार राष्ट्र बैंकको मौद्रिक नीतिपछि फेरि प्रभावित भयो । मौद्रिक नीतिमा नराम्रो केही नआए पनि लगानीकर्ताहरूले सोचे अनुरूप केही आएन भनेर बजार एक सातासम्म निरन्तर घट्यो । अहिले पुनः बजार केही सम्हालिन खोजेको छ । यतिबेला नेप्से परिसूचक २०८९.८४ विन्दुमा रहेकाे छ । 

यता बजार बढ्ने आधारहरू पनि थपिँदै छन् । जस्तै की नयाँ आर्थिक वर्ष सुरू भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । बैंकहरुको आकर्षक रिपोर्ट आईरहेको छ । यता पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता पनि सहज हुँदै गएको छ । बैंकहरूले फोन गरेरै र विज्ञापन छापेरै ॠण लिन बोलाउन थालेका छन् । बैंकहरूको ब्याजदर पनि पहिलाको तुलनामा घटेको छ । यी आधारहरूले गर्दा बजार बिस्तारै लयमा फर्कने विश्लेषकहरूको अनुमान छ ।

बजारको पछिल्लो अवस्थालाई अग्रज लगानीकर्ताहरूले कसरी बुझेका छन् ? आगामी साता बजारले कस्तो यात्रा तय गर्ला ? यसै विषयमा अर्थ संसारले केही लगानीकर्ताहरूसँग कुराकानी गरेको छ । लगानीकर्ताहरूसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ : 

छोटेलाल रौनियार (निवर्तमान अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम) 

ठीकै रहेको बजारको अवस्था मौद्रिक नीति पछि खस्किएको नेपाली पूँजी बजारका पुराना एवंम अनुभवी लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । मौद्रिक नीति सार्वजनिक भएको दिन पनि बढेको बजार ३ बजेपछिको राष्ट्र बैंकको पत्रकार सम्मेलन, केही लगानीकर्ताहरूको नकारात्मक धारणा र केही मिडियाहरूको नकारात्मक प्रचारले मास साईकोलोजी कमजोर भएर भोलिपल्टबाट बजार घटेको उनले बताए ।  खासमा मौद्रिक नीतिमा बजार बिगार्ने गरी नराम्रो केही नआएको र सपोर्टिभ कामहरू पनि केही नभएको उनको तर्क छ । कमजोर भएको लगानीकर्ताहरूको मास साईकोलोजी फेरि ब्युल्ड अप हुँदै गएको, ट्रेडरहरूले सेयर किन्न थालेका, बजार निकै तल्लो विन्दुमा गएका कारण सबैले अब सेयर किन्नुपर्छ भन्ने सोच बनाएका, बैंकहरूले आकर्षक रिपोर्ट सार्वजनिक गर्न थालेका जस्ता कुराले बजार आउने साता पोजेटिभ रहने उनको अनुमान छ । 

राधा पोखरेल (अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ)

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि मौद्रिक नीतिकै कारण बजार पछिल्लो समय प्रभावित भएको बताउँछिन् । मौद्रिक नीति राम्रो आउला भन्ने लगानीकर्ताहरूको अपेक्षा रहेको तर सोचेअनुरूप मौद्रिक नीति नआएको उनले बताइन् । यद्यपी मौद्रिक नीति राम्रो आएन भनेर बजार त्यति डाउन पनि नगएको र धेरै राम्रो पनि नभएको उनको तर्क छ । अहिले बजार केही सम्हालिएको बताउँदै उनले आउने साता पनि बजार साइडवेजमै  जाने बताइन् । बजार धेरै राम्रो हुनलाई पोलिसी राम्रो आउनुपर्ने, तरलता सहज हुनुपर्ने, ब्याजदर घट्नुपर्ने उनको धारणा छ ।

तुलसीराम ढकाल (अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम)

बजारको पछिल्लो अवस्थाको बारेमा कुराकानी गर्दा २ वर्ष अगाडिको मौद्रिक नीतिलाई सम्झन्छन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल । २ वर्ष अगाडि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् ४/१२ को नीतिले बजारलाई प्रहार गरेको उनी बताउँछन् । पूँजी बजारमा लगानी गर्ने भनेको बचाएको पैसाले हो, बचाएको र कमाएको पैसाले मात्रै पूँजी पर्याप्त नहुने हुँदा बैंक तथा वित्तीय संस्थाहरूको सहायता लिनुपर्ने उनले बताए । मौद्रिक नीतिको सेयर धितो कर्जाको व्यवस्थाले त्यतीबेला पूँजी बजारलाई ठूलो प्रहार परेको उनी सम्झन्छन् । बैंकको लोन घटाउँदा पूँजी नभएको र बजार घटेर १८०० को विन्दुसम्म आईपुगेको उनी बताउँछन् । बजार बढेको बेलामा अर्बौँ रकम राजश्व तिरिएकोर लाखौँ लगानीकर्ता स्वरोजगार भएकामा बजार घट्दा लगानीकर्ताले राज्यलाई तिर्ने राजश्व घटेको र यसले स्वयंम सरकार र लगानीकर्ता दुवै तर्फलाई नोक्सान भएको उनको तर्क छ । अहिले आम लगानीकर्ताहरूको आर्थिक अवस्था डामाडोल भएको उनले बताए । 

आगामी दिनका लागि भने बजारले लय समाउने क्लियर कारणहरू रहेको भन्दै उनले बजार बढ्ने ३ वटा मुख्य कारणहरूको बारेमा कुरा गरे । ढकालका अनुसार आगामी दिनमा बजार बढ्ने ३ वटा मुख्य आधारहरू यस प्रकारका छन् :

- क्रमिक रूपमा ब्याजदर घट्नु, बैंकिङ्ग प्रणालीमा सहज तरलता, बैंकहरूले फोन गरेर ॠण लिन बोलाउनु,
- नयाँ ब्रोकरहरूले लाइसेन्स पाएर कारोबार थालेका र पूँजी भित्रिएकोरस्टक डिलर आउने कुरा,
- पूँजी बजार निकै तल्लो विन्दुमा आइसकेको कारण अब बढ्ने र बढ्नैपर्ने ।

यी ३ वटा कारणहरूको बारे बुँदागत रूपमा चर्चा गर्दै उनले आगामी दिनको बजारको यात्रा आफूले सहज देखेको बताए ।

दीपेन्द्र अग्रवाल, लगानीकर्ता

ठूला लगानीकर्ता दिपेन्द्र अग्रवाल अहिले बजार साइडवेजमा चलिरहेको बताउँछन् । अहिले बजार साइडवेजमा चल्नुको मुख्य कारण मौद्रिक नीति रहेको उनको धारणा छ । मौद्रिक नीतिमा बजारलाई उत्साहित पार्ने र लगानीकर्तादेखि व्यवसायीलाई प्रोत्साहन गर्ने केही नआएको उनी बताउँछन् । 

"मार्केट साइडवेजमा छ कारण के त भन्दाखेरी मौद्रिक नीतिमा केही पनि त्यस्तो आएन जसले उत्साहित गरोस् सेयर बजारलाई वा इकोनोमीलाई राम्रो गरोस् । व्याजदर घटाएर व्यापारीहरूलाई जोगाउने वा रियल स्टेटलाई जोगाउने वा सेयर लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने केही पनि कार्य भएन जसले गर्दा गाह्रो भएको छ अहिले । जबसम्म देशमा सरकार एउटा पार्टीको र ब्युरोक्रेसी अर्को पार्टीको हुन्छ तबसम्म यस्तै हुने हो । त्यसैको फलस्वरूप हामी ५७ लाख लगानीकर्ताहरू भूतभोगी भइराछौँ ।", उनले भने ।

बजारको विकासका लागि धितोपत्र बोर्डले पनि केही भूमीका ननिभाएको उनको गुनासो छ । मार्केटलाई ठिक पार्न धितोपत्र बोर्डले प्रयास गर्नुपर्नेमा उल्टै भ्रष्ट्राचार र घुसखोरीमा लिप्त रहेको उनको आरोप छ । अहिले सेबोनले भ्रष्ट्राचार गरेर नेटवर्थ १०० रूपैयाँ भन्दा तल रहेका कम्पनीलाई धमाधम आईपीओ दिने, नेटवर्थ नेगेटिभ भएका कम्पनीलाई पनि हकप्रद निष्कासन गर्न धमाधम दिने जस्ता कार्यहरू गरी जनता मार्ने काम गरिरहेको उनको दुखेसो छ । आगामी साता पनि बजार धेरै अंकले पनि नघट्ने र धेरै अंकले पनि नबढ्ने उनको अनुमान छ । अर्को साता पनि बजार साइडवेजमै चल्ने बताउँदै अहिले बजारमा आफूहरूले धेरै पोजेटिभ केही नदेखेको उनले बताए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको