Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीसँग नाडा प्रतिनिधीहरुको छलफल, निष्क्रीय कर्जाकाे व्यवस्था तत्काल सच्याउन आग्रह

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, १६ : ५३ मा प्रकाशित

अर्थमन्त्रीसँग नाडा प्रतिनिधीहरुको छलफल, निष्क्रीय कर्जाकाे व्यवस्था तत्काल सच्याउन आग्रह

यही भाद्र १३ गते नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरेको छ । सो छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसँग आवश्यक सल्लाहगरी यथार्थपरक मूल्य कायम गर्न अनुरोध गरेका छन् ।
 
सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने, त्यस्तै बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध गरे । 

त्यसै क्रममा अध्यक्ष थापाले चालु पूँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा कर्जा वर्गीकरण गरिनु पर्ने व्यवस्थाले बैंक तथा वित्तिय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्न जाने बताउँदै कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित  बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि आग्रह गरे । 

त्यसैगरी सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरणगरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने लगायत काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन आग्रह गरेका छन् । सो छलफलको अन्त्यमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयाश गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।                                                             


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको