विश्वव्यापी रुपमा अर्थतन्त्रले संकटको सामना गरिरहँदा नेपालको आर्थिक क्षेत्रमा पनि त्यसको असर देखिएको छ । बजारमा माग र आपुर्ती शृङ्खला प्रभावित हुँदा ठुला उद्योगी व्यवसायी देखी साना व्यापारी एवं लघु उद्यमी मारमा देखिएका छन्। जसको फलस्वरुप बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जाको दर बढ्दै गएको हालै प्रकाशित अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको गत २०७९/८० को चौथौ त्रैमासिकको वित्तीय विवरणहरुबाट पनि पुष्टि हुन्छ ।
उक्त खराब कर्जाहरुको प्रभाव वित्तीय संस्थाहरुको नाफामा प्रत्यक्ष रुपमा परेको कारणले गर्दा नेप्सेका दोश्रो बजारका बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरु उक्त संस्थाबाट बाहिरीने क्रममा रहेकाले उक्त संस्थाहरुको सेयरको आपूर्ति अरु क्षेत्रको भन्दा तुलनात्मक रुपमा अत्याधिक छ । सेयरको अत्याधिक आपूर्तिको कारण राम्रो भनिएका नबिल बैंक, ग्लोबल आईएमई, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लगाएतका बैंकहरुको सेयर भाउ न्युनतम बिन्दुमा आएको छ । प्रभु बैंक, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकको नाफा नै वितरण गर्न नसक्ने अवस्थामा वितरण योग्य मुनाफा शुन्य दशमलवको अवस्थामा छन्।
जलविद्युत कम्पनीहरुको लागत अनुमान सहि नभएको कारण विद्युत उत्पादन हुनु पुर्व नै लगानी अभाव हुने लागत बढ्ने गरेको छ । यसने लगानीकर्तामा अविश्वासको वातावरण श्रृजना गरेको छ । लगानीको अभावको कारण हकप्रद सेयर जारी गरेका जलविद्युत कम्पनीहरुको कारण, दोश्रो बजारमा अत्याधिक आपुर्तिको सामना जलविद्युत क्षेत्रले पनि गरेको छ । यसबाट पनि बजारमा जलविद्युत कम्पनीहरुको सेयर मुल्य निरन्तर ओरालो लाग्ने क्रममा छ ।
सर्वसाधारणलाई सेयर निश्कासन गरे पश्चात ३ वर्षको लकिङ अवधि सकिएपछि प्राथमिक लगानिकर्ताहरु नै जलविद्युत परियोजनाबाट बाहिरिने हतार गर्नुले उत्त परियोजनाहरुमा ठुलो लगानी गरेका वित्तीय संस्थाहरुको साँवानै डुब्ने अवस्था सम्म पुगेको छ । कुनै पनि जलविद्युत परियोजनालाई विद्युत उत्पादनको अवस्था सम्म पु-याउने दायित्व प्राथमिक लगानीकर्ताको हुन्छ तसर्थः नियामक निकायले जलविद्युत कम्पनिका प्राथमिक लगानीकर्ताहरुको विद्युत उत्पादन हुने अवस्था पुर्वनै सेयर बेचेर बाहिरिने प्रवृत्तिको अन्त्य गनुपर्छ भन्ने आवाज आम लगानीकर्तामा बढ्दै गएको छ ।
कोभिड १९ पश्चात आम जनमानसमा खर्च कटौति गर्ने र भविष्यको लागी रकम संचित गरेर राख्नुपर्छ भन्ने धारणा विकसित भएको छ । यसले बजारमा वस्तु तथा सेवाको माग ह्वातै घटेको छ । खाद्य उद्योग, निमार्ण सामाग्री उत्पादन गर्ने उद्योग, आयात तथा निर्यातमा आधारीत उद्योगहरुको पनि खासै राम्रो प्रगती देखिएको छैन । नेप्सेमा सुचिकृत शिवम सिमेन्ट, घोराही सिमेन्ट, हिमालयन डिस्ट्रीलरी लगायतका कम्पनीहरुको विक्रीमा संकुचन आउनुले पनि बजारमा बस्तु तथा सेवाको माग निष्कृय रहेको देखाउँछ ।
बिक्री संगसगैं नाफामा आएको संकुचनले यि कम्पनीहरुको पनि सेयर मुल्यमा त्यसको प्रभाव देखिएको छ । होटल तथा टुरीजम क्षेत्रमा देखिएका निराशाका बादलहरु भने क्रमशः चिरीन थालेको संकेत गरेको छ । चरम मन्दीको बिचमा पनि नेपालमा होटल व्यवसायमा देश तथा विदेशबाट लगानी थपिने क्रम बढेको छ भने ठुला होटलहरु पनि निमार्ण संगसंगै उद्घाटन एवं सन्चालनमा आईरहेका छन्। गत २०७९ं।८० मा आठ लाख भन्दा बढि पर्यटक नेपाल भित्रिएका छन् यो क्रम अब विस्तारै बढ्दै जाने संकेत विश्व अथतन्त्रमा सुधारको संकेत संगै देखिएको छ ।
संसारकै ठुला जनसंख्या भएको मुलुक भारत र चीनबाट सोचे जति पर्यटक भित्राउन सकिएको छैन । हिन्दु एवं बौद्द धर्मको मुख्य तिर्थस्थल नेपाल भएको भए पनि यसको लाभ लिन सकेको छैन । विदेश भ्रमणमा जाने भारतिय पर्यटकको संख्या वर्षेनि बढ्दै छ । गत वर्षमात्र २ करोड भारतीयले पर्यटकको रुपमा संसारभर भ्रमण गरेका छन्भने १२ करोड चिनियाँले यो वर्ष पर्यटकको रुपमा भ्रमण गर्ने अनुमानित तथ्याङ्क सार्वजनिक भएको छ । आफ्नो छिमेकी मुलुक भारत, चीन लगायत सार्क एवं बिम्स्टेक राष्ट्रका करौडौ पर्यटकले संसार भ्रमण गरिरहँदा नेपालले वार्षिक २० लाख पर्यटकको पनि लक्ष्य हाँसिल गर्न नसक्नु दुःखद छ ।
अर्थतन्त्रमा समस्याहरु देखिएको भएपनि कोभिड १९ पछि थलिएको संसारभरको अर्थतन्त्र चलायमान हुँदै छ । यसै बिचमा भारतले ६ महिनामानै ७.८ प्रतिशतको आर्थिक वृद्दिदर हाँसिल गरेकोले ठुला अर्थतन्त्र सुधारिने क्रममा रहेको देखिन्छ । नेपालका सिमेन्ट कम्पनीहरुले भारत तर्फ निर्यात थालेका छन् भने बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने खबरले नेपाली अर्थजगतको मनोबल बढेको छ । बैंकहरुमा रहेको स्थानीय निकायको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिने अर्थमन्त्रालयको तयारीले पनि अब व्याजदर घट्दै जाने संकेत गर्दैछ । समग्रमा अब नेपालमा चाडपर्वको उत्साह थपिदै छ यस नै बजारमा वस्तु तथा सेवाको माग बढे संगै उद्योग एवं वाणिज्य क्षेत्रको कारोबार बढ्दै जाने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस