क्यानडाले सिख समुदायका एक नेताको हत्यामा भारतीय सत्ता पक्षधरको हात रहेको आरोप लगाएपछि भारत-क्यानडाको सम्बन्ध तनावपूर्ण बनेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको बताएका थिए । खालिस्तान टाइगर फोर्सका प्रमुख नेता रहेका निज्जरलाई भारतले मस्ट वान्टेडको सूचीमा राखेको थियो । सन् १९९० मा भारतको पञ्जाबमा भएको चरमपन्थी गतिविधिमा निज्जरको हात रहेको भन्दै त्यहाँको सरकारले उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस नै जारी गरेको थियो । तर क्यानडेली नागरिक रहेका निज्जर पक्राउ भने परेका थिएनन् ।
सोही घटनाका कारण भारतका प्रधानमन्त्री सन् १९७३ पछि एकैपटक सन् २०१५ मा द्विपक्षीय वार्ताका लागि क्यानडा गएका थिए । त्यसपछि सम्बन्धमा केही सुधार आउन थालेपनि पछिल्लो घटनाले दुई देशबीचको तनाव फेरि बढ्न थालेको छ । तनाव बढेसँगै दुई देशबीचको आर्थिक सम्बन्ध पनि संकटमा पर्ने देखिएको छ ।
पछिल्लो ४ वर्षमै दुई देशबीचको लगानी ३७ प्रतिशतले वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाको डेटाले देखाएको छ । क्यानडाको तीन ठूला कोषले पछिल्लो समय भारतको मुम्बई र दिल्लीमा शाखा नै सञ्चालनमा ल्याएका छन् । क्यानडाको सबैभन्दा ठूलो क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्डले पछिल्लो एक वर्षमा २१ खर्ब लगानी विस्तार गरेको थियो ।
दुई देशबीचको तनाव बढ्दै जाँदा आगामी समय हुनसक्ने लगानीमा ह्रास त आउने नै देखिन्छ अहिले भएको लगानीमासमेत समस्या आउने अनुमान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस