Like us!
Follow us!
Connect us!
Watch us!

फन्डामेन्टल एनालिसिस प्रभावकारी कि टेक्निकल ? लगानीकर्ताले जान्नै पर्ने केही टिप्सहरु

अर्थ संसार

शनिबार, ०६ असोज २०८०, १३ : ०४ मा प्रकाशित

फन्डामेन्टल एनालिसिस प्रभावकारी कि टेक्निकल ? लगानीकर्ताले जान्नै पर्ने केही टिप्सहरु

सेयरबजारमा संलग्न सबैले कुनै न कुनै तहमा फन्डामेन्टल र टेक्निकल एनालिसिस बारे जानकारी हासिल गरेकै हुन्छन् । फन्डामेन्टल अर्थात आधारभूत विश्लेषण भन्नाले कुनै पनि कम्पनीको वित्तीय प्रदर्शनलाई दर्शाउने विश्लेषण हो भने टेक्निकल अर्थात प्राविधिक विश्लेषण मुख्यत दोस्रो बजारमा संलग्नहरुको सामूहिक व्यवहारहरुलाई उतारिएको एक निश्चित ढाँचा हो ।

आज हामीले लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्दा जानै पर्ने केही आधारभूत तथा प्राविधिक विश्लेषणतर्फका केही टिप्सहरु उल्लेख गरेका छौ । आधारभूत विश्लेषण मुख्यत कम्पनीको प्रदर्शनसँग आधारित रहेर गरिने हुँदा धेरै हदसम्म पारदर्शी रहनेगर्छ तर दोस्रो बजारको प्राइस एक्सनलाई यसले धेरै प्रभावित पार्न भने सक्दैन । मुख्यत ठूला तथा सुरक्षित लगानी खोज्नेहरु आधारभूत विश्लेषणको भर परेर लामो समयसम्मका लागि लगानी गर्ने गर्दछन् ।

आधारभूत विश्लेषणमार्फत लगानीकर्ताले कम्पनीको हालको आर्थिक अवस्था, नाफानोक्सानको हिसाबकिताब, संस्थाको व्यवस्थापनको प्रभावकारिता जस्ता विषयमा जानकारी लिई उक्त कम्पनीको फेयर भ्यालु पत्ता लगाउने प्रयत्न गर्दछन् । कम्पनीको प्रति सेयर आम्दानी(इपिएस), किताबीमूल्य (बुकभ्यालु), मूल्य आम्दानी अनुपात (पिइ रेसियो) जस्ता त्रैमासिक तथा वार्षिक विवरणमा उल्लेखित प्यारामिटरलाई उक्त कम्पनी रहेको उद्योगको समग्र प्यारामिटरसँग तुलना गरि कम्पनीको फेयर मूल्य जान्न सकिन्छ । सोही फेयर भ्यालुलाई नै आधार बनाएर लगानीकर्ता लगानी गर्न सक्दछन् ।

कुनै पनि कम्पनीको फेयर भ्यालु उक्त कम्पनीको वित्तीय विवरणले मात्रैले प्रदर्शित नगरी समग्र उद्योगदेखि अर्थतन्त्रसम्मकै अवस्थाले पनि प्रतिविम्बित गर्न सक्दछ । जस्तै नेपालको पर्यटन उद्योग फस्टाउँदा अहिले राम्रो वित्तीय प्रदर्शन नगरेका कम्पनीले पनि आउँदो समय राम्रो प्रदर्शन गर्न सक्ने अनुमान गर्न सकिन्छ । निर्माण व्यवसाय फस्टाउँदा सिमेन्ट उद्योगले राम्रो व्यापार गर्ने प्रक्षेपण गर्न सकिन्छ । लगानी फस्टाउँदा बैंकिङ तथा वित्त समूहले राम्रो प्रतिफल दिन सक्छन् । यसकारण फन्डामेन्टल एनालिसिसमा माइक्रो मात्र नभई म्याक्रो रुपमै समग्र अर्थतन्त्रको अवस्था हेरेर पनि कम्पनीको फेयर भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ । तर मुख्य रुपमा आधारभूत विश्लेषणले भविष्यको भन्दा आजको फेयर भ्यालु नै खोज्नेगर्दछ ।

टेक्निकल एनालिसिस लगानीको निर्णय लिनका लागि लगानीकर्ताले हेर्ने अर्को महत्त्वपूर्ण पाटो हो । टेक्निकल एनालिसिसका सयौँ टुल भए पनि बुझ्नु पर्ने मुख्य कुरा के हो भने जबसम्म धेरै भन्दा धेरै मानिसलाई टेक्निकल एनालिसिसको बारेमा ज्ञान हुँदैन त्यतिन्जेलसम्म प्राविधिक विश्लेषण प्रभावकारी भने हुनसक्दैन । बजार मास बिहेबियर अर्थात समूहको मनोविज्ञानले चल्ने हुँदा जति धेरै मानिस प्राविधिक विश्लेषण बारे जानकार हुन्छन् उक्त विश्लेषणले काम गर्ने सम्भावना पनि उत्तिकै बढेर जान्छ ।

पछिल्लो समय लगानीकर्ताले टेक्निकलको सामान्य सपोर्ट र रेजिस्टेन्स दुई विन्दुहरु पहिचान गर्न जान्दा मात्रै पनि ती विन्दुबाट धेरै पटक मुभमेन्टहरु देखिन थालेको छ । बजारले पहिले करेक्सन लिएको विन्दुलाई रेजिस्टेन्स मान्ने र पहिले बाउन्सब्याक भएको विन्दुलाई सपोर्ट मान्ने सामान्य एनालिसिस धेरै लगानीकर्ताले बुझ्दा मात्रै पनि ती विन्दुहरुमा बजारले रियाक्सन दिइरहेको देख्न सकिन्छ ।

त्यसबाहेक भोल्युम एनालिसिसतर्फ पनि नेपाली लगानीकर्ताले ध्यान दिन थालेको देखिएको छ । यसैको फाइदा उठाउँदै कतिपय ब्रोकरमार्फत ठूला लगानीकर्ताले म्याचिङ अर्थात आफू आफू बीचमै कारोबार गरेर मात्रै पनि केही स्टकहरुको कारोबार ज्यादा देखाउने गर्न थालेका छन् । यसरी म्याचिङ गर्दा सामान्य लगानीकर्ताले दुई चीज बुझ्न जरुरी छ : पहिलो त त्यसरी गरिएको कारोबार आफू आफू बीचमै गरिएको कारोबार हो र दोस्रो त्यसरी गरिएको कारोबारले उनीहरुको औसत लागत पनि बढाइदिने गर्दछ जसले गर्दा आम लगानीकर्ता उनीहरुले पनि महँगो मै सेयर किनेका रहेछन् भनेर भ्रममा पर्न सक्दछन् ।

लगानीकर्ताहरुले बोलिन्जर ब्यान्ड, फिबोनाची रिट्रेसमेन्ट, इचिमोकु क्ल्याउड, मुभिङ एभरेज लगायत अन्य प्राविधिक विश्लेषणहरु पनि प्रयोग गर्दै आएपनि सामान्य र सरल टुल्सहरु नै बजारमा सबैभन्दा प्रभावकारी देखिदै आएका छन् । यसअर्थमा प्राविधिक विश्लेषण विगतमा भएका प्याटर्न हेरेर सम्भावित प्राइस एक्सनलाई प्रक्षेपण गर्ने प्रक्रिया हो भने आधारभूत विश्लेषण कम्पनीको आजको प्रदर्शनलाई हेरेर कम्पनीको फेयर भ्यालु निर्धारण गर्ने प्रक्रिया हो । यी दुवै विश्लेषणलाई प्रयोग गरेर लगानी गर्दा लगानी धेरै हदसम्म सफल रहने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको