Like us!
Follow us!
Connect us!
Watch us!

आयात-निर्यातमा कमी आउँदा व्यापार घाटा पनि घट्यो

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १३ : ५५ मा प्रकाशित

आयात-निर्यातमा कमी आउँदा व्यापार घाटा पनि घट्यो

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देशमा आयात-निर्यातमा कमी आउँदा व्यापार घाटामा पनि कमी आएको देखाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले घटेर रु.२६ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई रु.२५९ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ । वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई रु.२३३ अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.३२ अर्ब १४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२६ अर्ब २३ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु.२५ अर्ब ३४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१९ अर्ब २६ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५३.९ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.५ प्रतिशतले वृद्धि भई रु.३५ अर्ब ६० करोड पुगेको छ । यसमध्ये शिक्षातर्फ व्यय रु.२३ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२० अर्ब १६ करोड रहेकोमा शिक्षातर्फको व्यय रु. १२ अर्ब ७६ करोड रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको