Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अनिर्णीत बन्दा शुक्रबार पनि मौद्रिक समीक्षा सार्वजनिक हुनेमा आशंका, दोष अर्थ सचिवलाई

लोकेन्द्र ढकाल

विहीबार, १४ मंसिर २०८०, २० : १८ मा प्रकाशित

गभर्नर अनिर्णीत बन्दा शुक्रबार पनि मौद्रिक समीक्षा सार्वजनिक हुनेमा आशंका, दोष अर्थ सचिवलाई

आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सकस परेको छ । नियमत त्रैमास सकिएको एक महिना भित्र  (कार्तिक मसान्तसम्म)मा सार्वजनिक गरिसक्नुपर्ने समीक्षा नीतिगत निर्णयमा गभर्नर अधिकारी अनिर्णीत बन्दा पछि धकेलिएको हो । यझपि, आर्थिक अनुसन्धान विभागले विश्लेषण गरी तयार पारेको मस्यौदा प्रतिवेदनलाई राष्ट्र बैंक व्यवस्थापन समितिमा आजबाट छलफल शुरू भएको छ ।

व्यवस्थापन समितिमा आर्थिक अनुसन्धान विभागले तयार पारेको विश्लेषणलाई बुँदागत छलफल गरिन्छ । छलफलपछि तयार पारिएको संशोधित नीतिले पार्ने सकारात्मक तथा नकारात्मक असरका बारेमा निक्योल गरी राष्ट्र बैंक सञ्चालक समिति 'बोर्ड' बैठकमा छलफलका लागि ड्राफ्ट तयार पार्ने गरिन्छ । बोर्ड बैठकले पास गरे लगत्तै मौद्रिक समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको परम्परा रहेको छ ।

बिहीबारबाट व्यवस्थापन समितिमा छलफल शुरु भएको छ, शुक्रबार पनि थप छलफल गरी साँझ बोर्ड बैठक बोलाउने तयारी थियो, तर बोर्ड सदस्य अर्थ सचिवको व्यस्त समयका कारण शुक्रबारको बोर्ड बैठक अहिलेसम्म निश्चित गर्न सकिएको छैन, गभर्नर निकट राष्ट्र बैंक स्रोतले अर्थ संसारलाई बताए । अर्थसचिव कृष्णहरि पुष्करले समय निकाल्नु भयोभने शुक्रबारै बोर्ड बैठक बस्न पनि सक्छ तर अहिलेसम्म निश्चित भएको छैन, सम्भावना कम देखिन्छ, राष्ट्र बैंक स्रोतले भन्यो ।

बोर्ड बैठक बस्न अर्थ सचिवको व्यस्ततालाई दोष दिएतापनी गभर्नर अधिकारी कतिपय नीतिगत कुरामा अझै अलमलमा पर्दा ढिलो भएको राष्ट्र बैंक कर्मचारी युनियनका एक सदस्य बताउँछन् । यसपटक प्रधानमन्त्रीको निर्देशनको दबाव परेको छ, पार्टीगत राजनीतिक दलको अर्को प्रेसर छ, बैंकरहरुबाट पनि गहन सुझाब आएका छन्, आन्तरिक अर्थतन्त्र नचल्दा निजी क्षेत्रको अपेक्षा तथा लबिङ उत्तिकै तारान्तार रहेकाले गभर्नर सकसमा परेको उनले बताए ।

मौद्रिक समीक्षा ढिलो हुँदा सेयर लगानीकर्ता भने अन्योलमा परेका छन् । १८ सय बिन्दु वरिपरि रहेको नेप्से इन्डेक्स मौद्रिक नीतिको अन्योलताले प्रेसरमा परेको छ । आज पनि नेप्से इन्डेक्स १८.६ अंकले घटेर १८ सय ५८ बिन्दुमा झरेको छ । बजारका जानकार तथा प्राविधिक विश्लेषक अजयसिह थापा भन्छन्, लगानीकर्ताले मौद्रिक समीक्षा कुरेको देखिन्छ तर गभर्नरप्रति विश्वस्त नहुँदा बजार झरेको उनको दाबी छ । थापाले जति मौद्रिक समीक्षा ढिलो आउँछ त्यति बजारमा प्रेसर पर्ने बताउँछन् । जे जस्तो आएपनि एकदुई दिन बजारले रेस्पेक्ट गर्छ या पचाउँछ, अनि आफनो लय समात्ने थापाको विश्लेषण छ । 

 मौद्रिक नीतिको ३ महिनाको समीक्षा साँढे चार महिनासम्म पनि नआउनु राष्ट्र बैंकको अकर्मण्यताको पराकाष्ट हो भन्छन् बजारका जानकार तथा पुराना लगानीकर्ता उपेन्द्र पाठक । कार्तिक मसान्तभित्रैमा समीक्षा आउनु पर्ने मौद्रिक नीतिको कार्यविधिमा छ, आज मंसिररले १४ गते सम्मपनी आउँदैन, यसले लगानिकर्तामा अन्यौलता छाउँदा सेयर बजार अनिर्णयको बन्दी बनेको पाठकले बताए । उनी नेप्सेले लय नसमात्नुमा अर्थमन्त्री डा. प्रकाशशरण महतको काँचो अभिव्यक्ति पनि अर्को कारण रहेको आरोप लगाउँछन् । अर्थमन्त्रीमा सेयर बजार माथि जाओस् भन्ने सोच देखिँदैन भन्दै उनले भने, 'के बोल्ने, के नबोल्ने अर्थमन्त्रीमा त्यो ज्ञान देखिँदैन ।' पाठकले ठूला लगानीकर्ताले बजारको यही अन्योलताको फाइदा उठाउँदै सेयर एकुमुलेसन गरिरहेको पनि बताए । 

अर्का लगानीकर्ता विवेक रिमाल गतवर्ष पनि मंसिर अन्तिम र पौष महिनामा बजार बढेकाले यसपाली पनि बढ्ने बताउँछन् । उनले आफु बजारप्रती आशाबादी भएकाले पुरै लगानी गरेर बसेको बताए ।

मौद्रिक समीक्षा ढिलो आउनुका कारण सेयर बजार प्रभावित भएको भनिएता पनि  राष्ट्र बैंक सेयर बजारका नीतिलाई चलाउने या नचलाउने भन्नेमा मौन छ । गत असोज महिनामा अधिकतम् १२ करोडको सेयर धितो कर्जा सीमालाई राष्ट्र बैंकले पुनरावलोकन गर्दै व्यक्तिगतमा १५ करोड र संस्थागत तर्फ २० करोड बनाएको थियो । गत साउन ७ गते राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा जोखिम भार पुनरावलोकन गर्ने भन्दा सेयर बजार ६३ अंकले उछालिएको थियो । तर पछि गभर्नरले पत्रकार सम्मेलनमा ५० लाख सम्मको कर्जामा मात्र जोखिम भार १०० प्रतिशत र माथिका लाई १५० नै हो भनेर व्याख्या गरेपछि बजार लगातार २४४ अंकले घटेको थियो । यसपल्टको समीक्षामा सेयर लगानीकर्ताले जोखिम भार केही घट्छ की भनेर अपेक्षा राखेका छन् ।

त्यसैगरी संस्थागत तर्फको सेयर धितो कर्जामा २० करोडको सीमा केही बढ्छ कि भन्ने अर्को आसा सेयर लगानीकर्तामा छ । राष्ट्र बैंकको सेयर बजारप्रतिको नीति अलिकति खुकुलो गर्दिए नेप्से इन्डेक्स केही माथि जान सक्थ्यो की भन्ने आसा सेयर लगानीकर्ता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको