Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज, सेयर बजारदेखि बैंक क्षेत्रसम्म उत्साहित

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, ०८ : २६ मा प्रकाशित

गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज, सेयर बजारदेखि बैंक क्षेत्रसम्म उत्साहित

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरेको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ। राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृति प्राप्त गरेपछि शुक्रबार दिउँसो नीति सार्वजनिक गरिने तयारी अन्तिम चरणमा पुगेको छ।

यो मौद्रिक नीति गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेपछि ल्याउने पहिलो नीति हो, जसप्रति आर्थिक क्षेत्र, बैंक तथा वित्तीय संस्था र सेयर बजारका सहभागीहरू विशेष चासोका साथ हेरेका छन्।

अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुस्त गतिमा चलिरहेको छ। यद्यपि तरलताको मात्रा पर्याप्त रहेको र लगानीको वातावरण सुधार गर्नुपर्ने माग उच्च रहेको सन्दर्भमा, गभर्नर पौडेलको नीति उदार, सन्तुलित र उत्पादनमुखी हुने अपेक्षा गरिएको छ।

बजेटले घोषणा गरिसकेको नीतिहरू—जसमा कर्जाको पुनर्तालिकीकरण, खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनीको तयारी, डिजिटल बैंक स्थापनाको योजना लगायतका विषयमा स्पष्टता दिने गरी मौद्रिक नीति आउने संकेत देखिएको छ।

अर्थतन्त्रको गति बढाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि कार्यशील पूँजी कर्जा विस्तार, ब्याज जरिवानामा सहुलियत, लघुवित्त ऋणीहरूलाई राहत दिने व्यवस्था यसपटकको नीतिमा समेटिने तयारी छ।

त्यसैगरी व्यक्तिगत घरजग्गा कर्जाको सीमा वृद्धि, धितो मूल्याङ्कनको पुनरावलोकन, र रियल इस्टेट कर्जामा Loan-to-Value (LTV) Ratio सुधार जस्ता विषयहरू नीति मार्फत समेटिने सम्भावना छ। यसले निर्माण र घरजग्गा क्षेत्रलाई पुनः चलायमान बनाउने आशा गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरू पनि नीति प्रति सकारात्मक संकेत पर्खिरहेका छन्। ऋण प्रवाहका मापदण्डहरूलाई लचिलो बनाउँदै तरलता व्यवस्थापन सुधारतर्फ स्पष्ट मार्गदर्शन दिने अपेक्षा बैंकिंग क्षेत्रले राखेको छ।

यता सेयर बजार पनि यो नीतिलाई लिएर निकै उत्साहित देखिएको छ। बजेटले सेयर बजारसँग सम्बन्धित विषयमा नराम्रो सन्देश नदिएको सन्दर्भमा, मौद्रिक नीतिले अझ सकारात्मक असर पार्ने अनुमान गरिएको छ। विश्लेषकहरू गभर्नर पौडेललाई आर्थिक क्षेत्रको गहिरो समझ भएका, डेटा-आधारित निर्णय लिने संयमित व्यक्तित्वका रूपमा हेर्छन्। उनीबाट बजारमैत्री र लगानी अभिवृद्धि गर्ने नीति आउने विश्वास गरिएको छ।

यसै सन्दर्भमा गभर्नर पौडेल नेतृत्वमा बनेको कार्यदलले पनि मौद्रिक नीतिलाई उदार, विवेकपूर्ण र सन्तुलित बनाउने प्रस्तावसहित प्रतिवेदन बुझाउने तयारी गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको