Like us!
Follow us!
Connect us!
Watch us!

डाइभर्सिफिकेसनलाई डाइवर्सिफिकेसन भन्ने चार्ली मङ्गरले लगानीकर्तालाई दिएका तीन सुझाव यस्ता छन् :

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १५ : ३४ मा प्रकाशित

डाइभर्सिफिकेसनलाई डाइवर्सिफिकेसन भन्ने चार्ली मङ्गरले लगानीकर्तालाई दिएका तीन सुझाव यस्ता छन् :

विख्यात लगानीकर्ता वारेन वफेटका दाहिने हात मानिने चार्ली मङ्गरको ९९ वर्षको उमेरमा मङ्गलबार निधन भयो । वफेटको बर्कसायर हाथवे कम्पनीका उपाध्यक्ष रहेका मङ्गरको क्यालिफोर्निया अस्पतालमा मृत्यु भएको हो ।

लगानीकर्ता समुदायमाझ चिर परिचित मङ्गरले लगानीकर्तालाई थुप्रै टिप्स दिएका छन् । वारेन वफेटले पनि मङ्गरले नै आफ्नो लगानीको दृष्टिकोणलाई व्यापक बनाइदिएको बताउँदै समस्याग्रस्त कम्पनीलाई कम पैसामा खरिद गरेर नाफा कमाउनु भन्दा उच्च सम्भावना तर निम्न मूल्य भएका कम्पनी छान्न उनै मङ्गरले सिकाएको बताएका थिए । उनले भनेको अर्को भनाई, "माछा त्यहाँ मार्नुपर्छ जहाँ माछा छन्" पनि निकै प्रख्यात भएको भनाई हो ।

रियल स्टेट वकिल, डेली जर्नल कर्पोरेसनका अध्यक्ष तथा प्रकाशक एवम् समाजसेवी मङ्गरले लगानीकर्तालाई त्यसबाहेक पनि कैयौं सुझाव दिएका छन् । डाइभर्सिफिकेसनलाई डाइवर्सिफिकेसन भन्ने मङ्गरले पोर्टफोलियोमा सयौं स्टक थुपार्न भन्दा पाँच उत्कृष्ट स्टक छान्न निकै सहज हुने भन्ने गर्दथे । दुई तीन स्टक जसको बारेमा आफूलाई केही ज्ञान छ र आफूलाई त्यसबाट फाइदा हुन सक्छ भन्ने थाहा छ भने त्यस्ता दुई तीन स्टक होल्ड गर्दा धेरै फाइदा हुने मङ्गरको धारणा थियो । पोर्टफोलियोमा जति धेरै स्टक भयो उति लामो समय अध्ययन गर्नुपर्ने हुँदा लगानीमै जीवन समर्पित गर्ने बाहेकले धेरै डाइभर्स पोर्टफोलियो नबनाउन मङ्गरले सुझाव दिएका छन् ।

यस्तै मङ्गरको अर्को उत्कृष्ट सुझाव लगानीकर्तालाई आफ्नो आम्दानी हेरेर बाँच्नुपर्ने रहेको छ । मानिस आफ्नो आम्दानीकै हिसाबले बाँच्नुपर्ने र लगानीका लागि ससानो रकम बचाउँदै राख्नुपर्ने मङ्गर बताउने गर्दथे । मङ्गर आफू पनि जति नै धनाढ्य बनेपनि दशकौंसम्म पूरानै घरमा बसे । त्यसै गरि उनले आफूले जीवनमा सबैभन्दा उत्कृष्ट, स्मार्ट, मिहिनेती मानिसभन्दा पनि निरन्तर सिकिरहने मानिस सफलताको सिढीहरु चढ्दै जाने गरेको देखेको बताउने गर्दथेँ । निरन्तर जिन्दगीभरको सिकाइ नै सफलताको रहस्य रहेको मङ्गरको भनाई थियो ।

त्यसै गरि मङ्गरको तेस्रो सुझावमा लगानीकर्तालाई यथार्थ आम्दानी दिने कम्पनी मात्रै छान्नुपर्ने रहेको छ । यदि कुनै कम्पनीले नाफा देखाएर त्यो नाफा फेरि आफैमा लगानी गर्छ भने त्यो नाफा हुन नसक्ने उनको भनाई थियो । कुनै कम्पनी १२ प्रतिशत कमाएर त्यो वर्षको अन्त्यमा लगानीकर्तालाई दिन सक्छ भने मात्र त्यो आम्दानी हो । नत्र त्यो १२ प्रतिशत फेरि कम्पनी मै लगानी गर्नुपर्छ भने त्यो आम्दानी हैन । कम्पनीले आफ्नो कलकारखाना, मेसिन देखाउँदैमा त्यो लगानीकर्ता आम्दानी नहुने उनको धारणा थियो । नेपालको हकमा पनि मङ्गरको भनाईलाई नै मान्ने हो भने कम्पनीहरुले नाफालाई बोनस सेयरका रुपमा बाँड्दा त्यो लगानीकर्ताको आम्दानी हुन नसक्ने देखिन्छ ।

आगामी अङ्ग्रेजी नयाँ वर्षको दिन आफ्नो सयौं जन्मदिन मनाउनु अघि नै संसार छाडेका मङ्गरले लगानीकर्तालाई दिएका सुझावहरु पक्कै पनि मननीय मान्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको