Like us!
Follow us!
Connect us!
Watch us!

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

अर्थ संसार

शनिबार, १६ मंसिर २०८०, २० : ५७ मा प्रकाशित

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ । 

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले रू २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको