Like us!
Follow us!
Connect us!
Watch us!

तपाई काठमाडौमा घर जग्गा किन्दै हुनुहुन्छ ? हेर्नुहोस, यसरी बढ्यो मूल्यो

आइतबार, २६ कार्तिक २०७४, ०८ : ४० मा प्रकाशित

तपाई काठमाडौमा घर जग्गा किन्दै हुनुहुन्छ ? हेर्नुहोस, यसरी बढ्यो मूल्यो

अर्थ संसार, काठमाडौं पछिल्ला केही वर्षयता चक्रपथ आसपासका अधिकांश ठाउँमा जग्गाको मूल्य ह्वात्तै बढेको छ ।

गाविसहरु नगरपालिकामा परिणत भएपछि घरजग्गाको मूल्य ह्वात्तै बढेको हो । मोटर बाटोको सुविधा भएको जग्गा प्रतिआना १० लाखभन्दा कममा पाउन मुश्किल हुने गरेको उपभोक्ताहरू बताउँछन् ।

अझ सार्वजनिक सवारीको निकट पहुँच भएको, मुख्य सडक (कच्ची) मा जोडिएको तथा भित्री पक्की सडक भएको ठाउँमा जग्गाधनीले धक नमानी आनाको २० देखि ३० लाखसम्म भन्न थालेका छन् ।

यो मूल्यअनुसार घर बनाउन आवश्यक न्यूनतम जमीन किन्न मात्र करीब ६० लाख लगानी गर्न सक्नुपर्छ । अहिले २ आना २ पैसाभन्दा कम क्षेत्रफलमा घर बनाउन पाइँदैन । योभन्दा केही बढी जग्गा किन्ने सोच बनाउनु भएको छ भने बजेटको जोहो त्यहीअनुसार हुनुर्पयो ।

मध्यम वर्गलाई बढी मूल्यको जग्गा किन्ने हिम्मत गर्न गाह्रै छ । न्यून वा औसत आम्दानी गर्नेको कुरै छाडौं, मध्यम वर्गले पनि काठमाडौंको मध्यशहरी क्षेत्रमा घर किन्ने वा फाट्टफुट्ट देखिने खाली जग्गा किनेर घर बनाउने सोचेको छ भने यो अब सोचमै सीमित हुने अवस्था छ । शहरबाहिरका काँठ वा पाखो चहार्दा मात्र यो वर्गले जमीन लिएर घर बनाउन सक्ने देखिन्छ ।

बालाजुका अनिल थापाले आफ्नै घररजग्गा किन्न खोजेको ३ वर्ष भयो । तर, भनेजस्तो मूल्यमा पाउन नसकेपछि उनको चाहना अझै पूरा भएको छैन । ‘पहिले प्रतिआना ६–७ लाख हुँदा पनि महँगो लाग्यो,’ उनले भने, ‘अहिले मोटरेबल कच्ची बाटो पुगेपछि त आनाकै १०–१५ लाख पुगेको छ ।’

काठमाडौंमा जसोतसो जग्गा किने पनि त्यसमा घर बनाउन त्यति सहज छैन । साढे दुई तलाको घरमा ७ देखि ८ ओटासम्म कोठा हुन्छन् । सबै निर्माण सामग्री तथा ज्यालाको हिसाब गर्दा काठमाडौंमा साढे दुई तलाको घर बनाउन करीब ६० लाखदेखि ७० लाखसम्म लाग्ने देखिन्छ । मुख्य शहरी क्षेत्रभन्दा केही पर ३–४ आनाको सानो प्लट लिएर औसत किसिमको घर बनाउँछु भन्ने हो भने पनि कम्तीमा १ करोड खर्च हुन्छ ।

यो भयो व्यक्तिगत रूपमा घर बनाउँदा लाग्ने खर्चको कुरा । जग्गा किनेर घर बनाउने झन्झट नगर्ने, बरु १०–२० लाख महँगो तिरेर सुविधायुक्त व्यवस्थित वासस्थल खोज्ने अर्को समूह पनि छ, जसको रोजाइमा व्यावसायिक तरीकाले बनाइएका हाउजिङ पर्दछन् । अहिले उपत्यकामा सामान्यतया साढे दुईतले घर निकै प्रचलनमा छ । घरको डिजाइनले पनि मूल्यमा निकै प्रभाव पार्छ । साधारण डिजाइनको घर बनाउँदा लागत केही कम पर्छ भने राम्रो डिजाइनको बनाउँदा बढी लाग्छ ।

बढ्यो घर बनाउने लागत

२ वर्षअघिको भूकम्पमा परेर तुलनात्मक रूपमा सुरक्षित हुने भनिएका आरसीसी संरचनाका भवन पनि ठूलो परिमाणमा क्षतिग्रस्त बनेपछि सरकारले भवन संहितामा परिमार्जन र्गयो ।

उक्त भवन संहितामा भवनको भूकम्प प्रतिरक्षात्मक (सेस्मिक) डिजाइन अनिवार्य, नक्सा पास गर्नैपर्ने, कोलम र बीमको आकार ठूलो, ठाउँ–ठाउँमा नस (लिण्टल) कसेको हुनैपर्ने इत्यादि नयाँ प्रावधानमा समेटिए । र, यो लागू भएरनभएको अनुगमनमा कडाइ गर्ने भनिएको छ । यसले गर्दा घर निर्माणको लागत स्वाभाविक रूपमा बढ्यो । यसका अतिरिक्त निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिले पनि घर बनाउने लागत उकासिएको छ ।

नेपाली श्रम बजारबाटै गरेको कमाइको भरमा जीवनको पहिलो घर जोड्न चाहने ‘फष्र्ट होम बायर’का लागि हाउजिङका घर अझै पनि आकाशको फलजस्तै हो । यसका प्रमुख तीन कारण देखिन्छन् । पहिलो, सरकारले नै ‘फष्र्ट होम बायर’मैत्री नीति यहाँ अवलम्बन गरेको छैन । दोस्रो, बैङ्कले धितो (घरजग्गा अचल सम्पत्ति)विना कर्जा दिने अभ्यास नेपालमा छैन ।

त्यसैले धितो राख्न कुनै सम्पत्ति नहुने फष्ट होम बायरले बैङ्कबाट घर किन्न ऋण पाउँदैन । कर्जाको ब्याजदर पनि फष्ट होम बायरले तिर्न सक्नेभन्दा धेरै बढी छ । र तेस्रो, डेभलपर्सले नेपालको फष्र्ट होम बायरको बजारअनुरूप ‘अफोर्डेबल हाउजिङ’ ल्याउन सकेका छैनन् ।

हाउजिङ कम्पनीले घरको मूल्य निर्धारण गर्दा सामान्यतया ६० प्रतिशत जग्गा र ४० प्रतिशत घर निर्माणको लागत परेको हुन्छ । जग्गाको मूल्य ६० प्रतिशतभित्र डेभलपरको परेको मूल्यमा उनीहरूले जग्गाको ‘एष्टर्नल डेभलपमेण्ट कष्ट’ (बाटो, ढल, खुला ठाउँ इत्यादि परियोजनाको पूर्वाधार निर्माण लागत)समेत जोडेको हुन्छ । यसबाहेक डेभलपरले केही प्रतिशत आफ्नो नाफा पनि राखेका हुन्छन् ।

हाउजिङको घर व्यक्ति आफै बनाएको भन्दा हेर्दा आकर्षक देखिन्छ । आफै घर बनाउन शुरू गर्नुअघि इञ्जिनीयर खोज्ने, नक्सा पास गर्ने, ठेक्का दिनेदेखि साइटसम्म निर्माण सामग्रीको जोहो तथा व्यवस्थापन, ठेकेदारले सही तरीकाले काम गरेरनगरेको निगरानी, दिनहुँ रेखदेख, पानी हाल्ने इत्यादि काममा आफ्नो समय र परिश्रम दुवै खर्चिनुपर्ने हुन्छ । त्यति हुँदाहुँदै पनि व्यावसायिक हाउजिङ कम्पनीहरूले बनाएको जस्तो डिजाइन, इञ्जिनीयरिङ इनपुट, निर्माण व्यवस्थापन र फिनिसिङको मामलामा ‘पर्फेक्ट’ घर तयार हुन गाह्रो पर्छ ।

हाउजिङ कोलोनीभित्रका घरको मोल प्लटको आकार, त्यहाँ बनाइएका साझा पूर्वाधार तथा सुविधा, खुला ठाउँमा खर्चिएको जग्गा, घरको आकार, फिनिसिङ सामग्रीको स्तर र प्रोजेक्टको लोकेशनलगायत कुराले निर्धारण गर्छ ।

व्यावसायिक कम्पनीले बनाएका हाउजिङका घरको मूल्य व्यक्तिगत रूपमा बनेका वा बनाइनेभन्दा पक्कै पनि २०–२५ प्रतिशत महँगो पर्छ । यसको मुख्य कारण घर ‘तयार पारेर’ दिने भएकाले त्यसको निर्माणका क्रममा कम्पनीको प्रोफेशनल टीम वा कर्मचारीहरूले उठाएको सम्पूर्ण ह्यासल (प्रक्रिया तथा झन्झट)को लागत, निर्माण व्यवस्थापन, कम्पनी सञ्चालन लागत र त्यसबाहेक आफ्नो नाफा पनि जोडिएको हुने हाउजिङ कम्पनीहरू बताउँछन् ।  टिभी अन्नपूर्णबाट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको