सिडि रेसियो ८० प्रतिशत भन्दा तल झर्न लागेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सात दिनका लागि २० अर्ब तरलता खिच्ने भएको छ ।
बैंकले सात दिने निक्षेप संकलन उपकरण मार्फत पुस २६ देखि माघ ४ गतेसम्मका लागि २० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम २० अर्बसम्मै बोल गर्न सक्नेछन् ।
संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले माघ ४ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।
पुस महिनामा राष्ट्रबैंकले निक्षेप संकलन गर्न लागेको यो आठौं पटक हो । पुसको शुरूवात मै १० अर्ब निक्षेप संकलन गरेको राष्ट्र बैंकले पुस ६ गते थप २५ अर्ब, पुस ११ गते ३५ अर्ब, पुस १२ गते २० अर्ब, पुस १७ गते १० अर्ब, पुस १८ गते २५ अर्ब र पुस २४ गते ३५ अर्ब निक्षेप संकलन गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस