Like us!
Follow us!
Connect us!
Watch us!

महासङ्घलाई ओलीको आश्वासन–निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, ०९ : ३४ मा प्रकाशित

महासङ्घलाई ओलीको आश्वासन–निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ

 प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने गरी सरकारले नीतिहरू अवलम्बन गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्धन एवं विस्तारबिना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पारे ।

महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासङ्घले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।

भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताए ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादितरूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो । अध्यक्ष ढकालको नेतृत्वमा पुगेको महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने भन्दै अनुरोध गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको