Like us!
Follow us!
Connect us!
Watch us!

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा 'नेपाल हेल्थ समिट' गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, २० : ५२ मा प्रकाशित

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा 'नेपाल हेल्थ समिट' गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

 नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ, उनले भने । मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठनसमेत गरेको छ ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा. सम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यलाई सदस्य छन् ।

यसैगरी, विज्ञहरु डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुगाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको