Like us!
Follow us!
Connect us!
Watch us!

मुद्रास्फीति ३.८५ प्रतिशतमा सीमित,सुदूरपश्चिममा महँगी उच्च

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १७ : १९ मा प्रकाशित

मुद्रास्फीति ३.८५ प्रतिशतमा सीमित,सुदूरपश्चिममा महँगी उच्च

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकले मुलुकमा महँगी नियन्त्रणउन्मुख रहेको देखिएको छ।

तथ्यांकअनुसार २०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।  साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत थियो । गत वर्षको भदौमा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको महँगीदर निरन्तर घटेको हो ।

चालु आवको दोस्रो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांकमा परिवर्तन भएको छैन ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०३ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेश प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको