नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर, कुन संस्था हुन भनेर नाम भने खुलाइएको छैन ।
गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो ।
पुनरकर्जा, व्यवसायिक कर्जा, र सहुलियतपूर्ण कर्जाको सदुपयोगसम्बन्धी अध्ययनका क्रममा २ वटा लघुवित्तले नियम उल्लंघन गरेको पाइएको छ। यसका साथै, निर्देशनको पालना नगरेको आधारमा थप ७ वटा लघुवित्तलाई कारबाही र निर्देशन जारी गरिएको छ।
संस्थागत सुधारको क्रममा, राष्ट्र बैंकले २७ वटा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतलाई औपचारिक निर्देशन दिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार, गत असार मसान्तसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। ती संस्थाहरूको कुल निक्षेप १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र सापटी २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ रहेको छ। साथै, कुल कर्जा प्रवाह ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँमा पुगेको छ भने लगानी १० अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस