नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन्।
प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएसँगै घिसिङले महसुल उठाउन नयाँ विधि अपनाएका हुन्।
उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् । पत्रमा बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ ।
पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ ।
बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।
यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको थियो । उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । तर नियमन आयोगले हिजै लाइन नकाट्न निर्देशन जारी गर्यो ।
सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस