वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको संख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीसँग छ ।
पछिल्लो १५ वर्षमा नेपालमा कुल १०९ खर्ब २२ अर्ब ९१० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो रेमिटेन्स २०६६ साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो ।
उक्त रेमिट्यान्सको पाटो सुखद छ । तर, पछिल्ला १५ वर्षमा भित्र्याएको १०९ खर्ब रेमिटेन्सको बदलामा १४ हजार २ सय १३ जनाको शव भित्रियो ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार यो अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका मात्रै ३ हजार४ सय ४० जना श्रमिक छन् । उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको बोर्ड सचिवले जानकारी दिएका छन् । तर बोर्डको यो सङ्ख्या यकिन भने होइन । बोर्डले विदेशमा अङ्गभङ्ग भई आर्थिक सहायता लिनेहरूको मात्रै तथ्याङ्क राख्दै आएको छ । बोर्डबाट आर्थिक सहायता नपाउने अङ्गभङ्ग हुनेहरूको सङ्ख्या अझ ठुलो छ ।
कति जान्छन् वैदेशिक रोजगारीमा ?
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०८१/८२ को असोज मसान्तसम्म ३१ वर्ष ३ महिनाको अवधिमा कुल ७९ लाख ७६ हजार ४६५ जना नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
कुन बर्ष कति भित्रियो रेमिटेन्स ?
राष्ट्र बैंकको तथ्याकंअनुसार, आर्थिक वर्ष २०६६/६७ मा २ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ र २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीबाट नेपालमा आएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३० करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १० करोड रुपैयाँ, २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ, २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ र २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीमा गएकाहरूले पठाएका छन् ।
यस्तै चालु आर्थिक बर्ष २०८१/८२ को चार महिना (साउनदेखि कात्तिकसम्म) ५खर्ब २१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस