Like us!
Follow us!
Connect us!
Watch us!

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, ११ : २७ मा प्रकाशित

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा  मात्रै बिदेसिए ५९ हजार नेपाली

देशमा रोजगारी अवसर प्राप्त नहुँदा दैनिक विदेशीनेको संख्या वृद्धि भइरहेको छ । बढ्दो महँङ्गी, असीमित आवश्यकता र अस्थिर राजनीतिक प्रणालीका कारण युवाहरू वर्षेनी ठूलो संख्यामा पलायन भइरहेका छन ।

शिक्षा होस या रोजगारीको लागि विदेशी मोह सुख सुबिधा र अवसर देखे पछि हाम्रो जस्तो विकाशोन्मुख देशका सक्षम युवाहरु विदेशी भूमितिर आर्कषित छन् । 

गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने ३६ हजार ९२८ रहेको छ । जसमा ३१ हजार २५६ पुरुष र पाँच हजार ६७२ महिला रहेका छन् । सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८२३ पुरुष र दुई हजार ७१८ महिला रहेका छन् ।

त्यसपछि क्रमशः साउदी अरेबिया ११ हजार ८०९, कतार ११ हजार ७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १ हजार ३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ । मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो ।

साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् । अघिल्लो वर्षको साउनमा म्यानपावर कम्पनीहरूले २९ हजार २२९ जनाले वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका थिए । 

दैनिक जसो त्रिभुवन विमानस्थल वैदेशिक अध्ययन र रोजगारको लागि विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ । विदेश जान तम्तयार भएर फ्लाइट पर्खिरहेका युवाहरु खादा र माला लगाएर आफन्तहरुसँग विदाइका फोटोहरु क्यामरामा कैद गरिरहेका देखिन्छन् ।

छरछिमेक र इष्टमित्रको बधाई तथा यात्रा सफलताको शुभकामनाले सामाजिक सञ्जाल भरिएको हुन्छ । दैनिक सरदर दुई हजार चार सयभन्दा बढी युवा देश छोडेर रोजगार र अध्ययनको निम्ति बिदेसिन बाध्य छन् । वैदेशिक अध्ययन र रोजगारको लागि बिदेसिनेहरुको सङ्ख्या कहालिलाग्दो छ । देश छाड्ने युवा विद्यार्थी र श्रमिकहरुको सङ्ख्या हेर्दा लाग्छ निकट भविष्यमा देश नै रित्तिने अवस्था आउँदै छ । देश नै विदेश गइरहेको जस्तो छ ।

नेपालमा आधारभूत तहमा भर्ना भएका विद्यार्थीमध्ये एक चौथाइले मात्र माध्यामिक शिक्षा पूरा गर्दछ् । यसरी बिचमै पढाइ छाड्ने बालबालिका को हुन् र उनीहरु के गरिरहेका छन् भन्नेबारे राज्यले चासो देखाएको देखिँदैन । त्यस्तै कक्षा १२ अध्ययन पछि अधिकांश विद्यार्थीहरु कलेजमा भन्दा कन्सल्टेन्सीमा भेटिन थालेका छन् । 

हामीले हाम्रो सामाजिक मनोविज्ञानलाई नियाल्यौं भने यस्तो लाग्छ कि सबै मान्छे विदेश जान चाहन्छन् । यदि ठूला र समृद्ध मुलुकले भिषालाई सहज बनाइदिने हो भने हाम्रो अवस्था के होला ? अवस्था कहाली लाग्दो छ ।

यो विदेश पलायनको लहर वा तरङ्ग रोकिएन भने आगामी १०/१५ वर्षपछिको अवस्था कस्तो होला ? पढ्नका लागि विदेशिएको युवा कहिल्यै देश नफर्किने युवाका रुपमा परिणत भएको छ । युवाहरुलाई अध्ययन सकिसकेपछि नेपालमा नै सम्भावना देखाउन, भविष्य देखाउन  उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी नतिजामूलक कार्यक्रममा जोड दिनु जरुरी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको