चालू आर्थिक वर्ष २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
कुन महिनामा कति ?
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड,असोजमा ३ अर्ब ७ करोड,कात्तिकमा १ अर्ब ८७ करोड र मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।
चालू आवमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरुमा विद्युत् निर्यात घटेको र शुख्खायाम सुरु भएसँगै जलविद्युत आयोजनाहरुको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नु परेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस