नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका बचतकर्तालाई भुक्तानी दिन सुरु भएको छ ।
समस्याग्रस्त भएपछि बैंकको व्यवस्थापन जिम्मा लिएको नेपाल राष्ट्र बैंकले बुधबारदेखि बचतकर्तालाई पैसा भुक्तानी गर्न थालेको हो । भुक्तानी प्रक्रिया बिहान ११ बजे सुरु हुनेछ।
पहिलो चरणमा २५ हजार रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको समस्या व्यवस्थापन समूहले जानकारी दिएको छ । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ । बचत रकम भुक्तानीसँगै व्यवस्थापनको जिम्मा पाएको समूहले कर्जा असुलीको कामलाई पनि अगाडि बढाएको छ ।
बैंकले केन्द्रीय कार्यालय नेपालगञ्ज, तुल्सीपुर शाखा, लमही शाखा, गुलरिया शाखा, बाँसगढी बर्दिया शाखा, भुरिगाउँ दाङ शाखा, घोराही शाखा, कोहलपुर शाखा, खजुरा शाखा, सानोश्री शाखा, भालुवाङ शाखा, गढवा शाखा, राजापुर शाखा, नारायणपुर शाखा, सिसहनिया शाखा, शम्शेरगञ्ज शाखा, बैजापुर शाखा र विजौरी शाखा दाङबाट बचत फिर्ता गरिने जनाएको छ ।
बैंकको वस्तुस्थिति र दायित्वको अवस्थासँगै यसका सुविधाका विषयमा उक्त समूहले अध्ययन गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बाँके, बर्दिया र दाङ जिल्लामा शाखा रहेको यस बैंकमा करिब ४० देखि ५० हजार बचतकर्ता छन् । उनीहरुले करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत गरेका छन् भने बैंकले झन्डै साढे तीन अर्ब बराबर कर्जा वितरण गरेको व्यवस्थापन समूहले बताएको छ । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस