साताको पहिलो दिन, आइतबार, सेयर बजारमा पुनः टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) को समस्या देखा पर्यो। कारोबारको सुरु भएको केही समयमै नेप्सेले उपलब्ध गराएको टिएमएसले लगानीकर्ताहरूलाई समस्यामा पार्यो। कहिले लग इन हुने त कहिले नै नहुने समस्याले लगानीकर्ता निराश भए।
यो समस्या लगातार भइरहे पनि प्रमुख सरोकारवाला निकायहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)को मौनता रहनु अचम्मको विषय हो। नवनियुक्त सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि यस विषयमा तत्काल कदम चाल्न कुनै चासो देखाएका छैनन्।
सिस्टमको जिम्मेवारी कसको?
नेप्से र ब्रोकर कम्पनीहरू एकअर्कालाई दोष दिइरहँदा लगानीकर्ताको समस्या झन् बढेको छ। नेप्सेका कर्मचारीले समस्या ब्रोकर कम्पनीसँग सोध्न आग्रह गरे भने ब्रोकर कम्पनीले नेप्सेलाई दोष दिए। यसले टिएमएसको जिम्मेवारी कसको हो भन्ने प्रश्न झन् जटिल बनाएको छ।
लगानीकर्तामाथिको प्रभाव
टिएमएसमा आएको समस्याले गर्दा आइतबारको कारोबार रकम अन्य दिनको तुलनामा निकै कम रह्यो। बजारमा लगातार हुने गिरावट र जोखिमयुक्त साना पुँजीकृत (लो क्याप) कम्पनीहरूको मात्र मूल्यवृद्धिले सेयर बजारलाई अनिश्चित बनाएको छ। यसबीच, आधारभूत रूपमा बलियो कम्पनीहरूको मूल्य घटिरहनु र बजार चलायमान नभएसँगै लगानीकर्ताहरूको निराशा झन् गहिरिएको छ।
नेतृत्वको मौनता र नियामकको बेवास्ता
सेबोनका अध्यक्ष श्रेष्ठले नेप्सेलाई तुरुन्त बैठकमा बोलाउन र समस्या समाधानका लागि पहल गर्न सक्ने भए पनि उनीहरू मौन बसिरहेका छन्। यस्तो देखिन्छ कि नयाँ नेतृत्व र सरकार सेयर बजारलाई व्यवस्थित गर्नभन्दा पनि दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स दिने योजनामा केन्द्रित छन्।
नियामकको कमजोरी, लगानीकर्ताको पीडा
लगातारको बजार गिरावट, कमजोर प्रणाली र सरोकारवालाको जिम्मेवारीको अभावले लगानीकर्ता समस्यामा परेका छन्। सेबोन र नेप्सेले समयमै चासो नदिँदा सेयर बजार अझ कमजोर बन्ने संकेत देखिएको छ।
यो अवस्थामा लगानीकर्ताहरूले स्थिरता र पारदर्शिता खोजिरहेका छन्। तर नियामक निकायहरू जिम्मेवारीबाट पन्छिरहँदा उनीहरूको पीडा झन् बढ्दै गएको छ। बजारलाई व्यवस्थित बनाउन र लगानीकर्ताको विश्वास फर्काउन नियामक निकायहरूले तत्काल कदम चाल्न आवश्यक छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस