Like us!
Follow us!
Connect us!
Watch us!
‘संस्थापक सेयरलाई दोस्रो बजारमा कारोबार गर्न धेरै प्रतिबन्ध रहेकाले गणना नगरिएको हो’

बजरमा रहेका ९० प्रतिशत साधारण सेयर डिम्याट भएको धितोपत्र बोर्डको दावी

विहीबार, १६ मंसिर २०७३, १० : ३० मा प्रकाशित

बजरमा रहेका ९० प्रतिशत साधारण सेयर डिम्याट भएको धितोपत्र बोर्डको दावी

अर्थ संसार

काठमाडौं–नेपाल धितोपत्र बोर्डले हालसम्म करिव ९० प्रतिशत साधारण सेयर अभौतिकृत भइसकेको बताएको छ । बोर्डले बुधबार एक विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिएको हो । बोर्डले नेप्से र सिडिएसलाई २०७२ माघदेखि पूर्णस्वचालित कारोवार संचालन गर्न निर्देशन दिएको थियो ।

बोर्डका अनुसार २०७२ पुस मसान्तसम्म साधारण सेयरको अभौतिकीकरणको अवस्था करिव ३० प्रतिशत मात्र थियो ।

२०७२ माघदेखि अभौतिकृत सेयरको मात्र कारोवार शुरु भएपछिको ६ महिनामा (आव २०७२।७३ को अन्त्यसम्म) साधारण सेयरको अभौतिकीकरणको अवस्था ८३ प्रतिशत पुगेको थियो ।  त्यसपछि अहिलेसम्म करिव ९० प्रतिशत साधारण सेयर अभौतिकृत भइसकेको नेप्सेले जनाएको छ । 

नेप्सेको विज्ञप्तिको पूर्ण विवरणः 

केही संचार माध्यमहरुमा कुल सेयरमध्ये ३३ प्रतिशत सेयर मात्र अभौतिकृत भएको समाचार हालै प्रकाशित भएकोमा बोर्डको ध्यानाकर्षण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कुल सेयरमध्ये दुईतिहाई (करिब ६५ प्रतिशत) संस्थापक सेयर रहेको छ भने सार्वजनिक रुपमा निष्काशन भएको साधारण सेयरको संख्या एकतिहाई (करिब ३५ प्रतिशत) मात्र रहेको छ ।

संस्थापक सेयरलाई दोस्रो बजारमा कारोबार गर्न धेरै प्रतिबन्धहरु रहेकोले यो सेयर गैर—कारोबारीय सेयरको रुपमा लिइन्छ ।

साधारण सेयरलाई कारोबारीय सेयर भनिन्छ । हालसम्मको प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर ५ वर्षसम्म विक्री गर्न नपाउने र त्यसपछि पनि विक्री गर्दा संस्थापक समुहमै रहने गरी विक्री गर्नुपर्ने बाध्यात्मक अवस्था छ । 

त्यस्तै जलविद्युत् कम्पनीहरुको संस्थापक सेयर ३ वर्षसम्म विक्री गर्न नपाउने तथा कर्मचारी र उद्योग प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गरेको सेयरमा ३ वर्षसम्म कारोबार गर्न नपाउने प्रतिबन्धित समय राखिएकोले ती सेयरहरु उक्त अवधिपश्चात् मात्र कारोवारमा आउन सक्छन् ।

साथै संस्थापकहरुको सेयर लगानी दीर्घकालीन प्रकृतिको हुने भएको र यस सेयरको कारोबार प्रतिबन्धात्मक अवस्थामा मात्र हुने गर्दछ । यसले गर्दा कारोबार गर्ने समयमा मात्र संस्थापक सेयरको अभौतिकीकरण गर्ने प्रवृतिले यो सेयरको अभौतिकीकरण अनुपात न्यून रहन गएको हो ।

विश्वका सबैजसो विकसित पूँजीबजारमा रहेको प्रचलनलाई आधार मानी बजारको यथार्थ मापन हुने गरी कारोबारयोग्य सेयरको आधारमा २०६४ सालबाट नेप्से फ्लोट इन्डेक्स पनि गणना गर्न थालिएको हो । २०७३ असारमा नेप्से फ्लोट इन्डेक्स ८३ प्रतिशतले वृद्धि आई १२५ बिन्दुमा उक्लेको छ, जुन २०७२ असारमा ६९ बिन्दुमा रहेको थियो । सोही इन्डेक्स २०७१ असारमा ७३ बिन्दुमा रहेको थियो । 

२०७२ पौषसम्म धितोपत्र बजारमा दुबै भौतिक तथा अभौतिक सेयरको कारोवार भइरहेकोमा धितोपत्रको दोश्रो बजारलाई पूर्ण स्वचालित बनाउने उद्देश्यले बोर्डले नेप्से र सिडिएसलाई २०७२ माघदेखि पूर्ण स्वचालित कारोवार संचालन गर्न निर्देशन दिएको थियो ।

ती संस्थाहरुमा भएको रेकर्डअनुसार २०७२ पुस मसान्तमा साधारण सेयरको अभौतिकीकरणको अवस्था करिव ३० प्रतिशत मात्र रहेकोमा २०७२ माघदेखि अभौतिकृत सेयरको मात्र कारोवार शुरु भएपश्चात्को ६ महिनामा अर्थात आव २०७२।७३ को अन्त्यसम्ममा साधारण सेयरको अभौतिकीकरणको अवस्था ८३ प्रतिशत रहेको थियो । हालसम्म करिव ९० प्रतिशत साधारण सेयर अभौतिकृत भइसकेको देखिन्छ । 

यसरी नियमित रुपमा कारोवार हुने साधारण सेयरको अभौतिकीकरणको अवस्था उत्साहजनक रहेको र यो क्रम बढ्दै गइरहेको देखिन्छ । बजार सुधार तथा विस्तार गर्न अग्रसर रहदै आएको बोर्डले बजारको हरेक गतिविधिहरुलाई नजिकबाट नियालिरहेको सन्दर्भमा दोश्रो बजारको पूर्ण स्वचालित कारोवार संचालन पश्चात् धितोपत्रको अभौतिकीकरणको अवस्था, त्यसको प्रभाव र त्यसमा सुधार ल्याउन बोर्ड संवेदनशील रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको