नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका संस्थापक सेयर कारोबारसम्बन्धी नयाँ नियम लागू गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै राष्ट्र बैंकले संस्थापक सेयर खरिदबिक्री, नामसारी, हक हस्तान्तरण तथा पुँजी वृद्धिसम्बन्धी प्रक्रिया थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो। यस व्यवस्थाले सेयर कारोबारलाई पारदर्शी बनाउनका साथै अनधिकृत रूपमा हुने स्वामित्व परिवर्तनलाई रोक्ने उद्देश्य राखेको छ।
संस्थापक सेयरको खरिदबिक्री वा नामसारी गर्न अब राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य हुनेछ। यस्तो स्वीकृति प्राप्त गर्नका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको सिफारिस आवश्यक हुनेछ भने अन्य सेयरधनीहरूको लिखित सहमति समेत पेश गर्नुपर्नेछ। राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार, सामान्य अवस्थामा अनुमति प्राप्त गरेको मितिले पाँच वर्षसम्म संस्थापक सेयर किनबेच गर्न पाइने छैन।
तर, केही विशेष परिस्थितिमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक सेयर कारोबार गर्न सकिनेछ। प्रविधि सुधार गर्न, पुँजी वृद्धि गर्न, दुई वा दुईभन्दा बढी संस्था गाभिएर नयाँ लगानीकर्ता थप गर्नुपर्ने अवस्थामा संस्थापक सेयर किनबेच गर्न अनुमति दिइनेछ। यस्तो अवस्थामा सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरी प्रति कित्ता सेयर मूल्य निर्धारण गरिनुपर्ने छ।
राष्ट्र बैंकले सेयरधनीको मृत्यु वा पारिवारिक अंशबन्डाको अवस्थालाई समेत स्पष्ट पारेको छ। यदि कुनै संस्थापक सेयरधनीको मृत्यु भएमा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित हकदारको नाममा सेयर नामसारी गर्न सकिन्छ। त्यस्तै, पारिवारिक अंशबन्डाका आधारमा पनि कानुनी प्रक्रिया पूरा गरेर सेयर हस्तान्तरण गर्न पाइनेछ।
नयाँ नियमअनुसार, सेयर खरिद गर्ने व्यक्तिले विस्तृत व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्नेछ। यसमा नाम, स्थायी र हालको ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना, पति/पत्नी, बाबु, बाजेको नाम जस्ता विवरण समावेश गर्नुपर्नेछ। सेयर खरिदकर्ताले कालोसूचीमा नरहेको प्रमाण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लगानीको स्रोत खुलाउने कागजात तथा आपराधिक पृष्ठभूमि नभएको प्रमाण पेश गर्नुपर्नेछ।
यदि सेयर खरिद गर्ने पक्ष संस्था हो भने, प्रस्तावित संस्थाले सञ्चालक समितिको निर्णय पेश गर्नुपर्नेछ। साथै, कम्पनीको दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण तथा अन्तिम हिताधिकारीको विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ। सेयर खरिदकर्ताको सञ्चालक समितिमा प्रतिनिधित्व हुने भएमा प्रस्तावित सञ्चालक अयोग्य नभएको प्रमाण तथा फिट एण्ड प्रोपर मापनका आधार पूरा गरेको प्रमाणसमेत पेश गर्नुपर्नेछ।
नयाँ संस्थापक सेयरधनी थप गर्न चाहेमा पुँजी वृद्धिको उद्देश्य स्पष्ट पार्दै राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। सेयरको मूल्य निर्धारण मान्यताप्राप्त लेखापरीक्षकबाट गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा गरिनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस