Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञता विकासका लागि अन्तक्र्रिया सम्पन्न

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १९ : २८ मा प्रकाशित

नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञता विकासका लागि अन्तक्र्रिया सम्पन्न

ललितपुरमा आज नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपाल द्वारा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञता विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपालमा बीमाङ्कीय विज्ञता विकास सम्बन्धमा छलफल गरी सुझाव प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोबल एक्च्युरियल इनिसिटिभ (जीएआईएन), बीमक, एक्च्युरियल सोसाइटी अफ नेपाल, तथा बीमाङ्कीय विश्लेषकहरूबीच अन्तक्र्रिया गरिएको हो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा ले बीमाङ्कीहरूको भूमिका विशेष गरी बीमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमा व्यवसायलाई थप गति दिन तथा बीमितहरूलाई ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले कार्यक्रमबाट प्राप्त हुने नयाँ दृष्टिकोण र विचारहरूले बीमाङ्कीय पेशालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले बीमा क्षेत्रमा वित्तीय स्थायित्व सुनिश्चित गर्न, जोखिम व्यवस्थापन प्रभावकारी बनाउन र दिगो वृद्धि हासिल गर्न बीमाङ्कीहरूको भूमिका अपरिहार्य रहेको बताए। नेपालमा बीमाङ्कीको अभावका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी तथा नियामकीय सुपरिवेक्षण सुदृढीकरणका गतिविधि अघि बढाइरहेको उनले जानकारी दिए।

आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सन ले नेपालमा बीमाङ्कीय विज्ञताको विकासका लागि नेपाल बीमा प्राधिकरणबाट भएको प्रयास सराहनीय रहेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि तत्परता व्यक्त गरिन्।

ग्लोबल एक्च्युरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउ ले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि नेपाल बीमा प्राधिकरणसँगको सहकार्य उत्साहजनक रहेको भन्दै आगामी दिनमा यसलाई अझ सघन रूपमा अघि बढाउने प्रतिवद्धता जनाए।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणले चालेका पहल र जीएआईएनसँगको सहकार्यबाट प्राप्त उपलब्धिहरूबारे प्रस्तुति दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका प्रतिनिधि, ग्लोबल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पदाधिकारी, एक्च्युरियल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्युरियल विज्ञानका विद्यार्थी, बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्युरियल प्रवन्धक र विश्लेषकहरू को उपस्थिति रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको