राजधानीको तीनकुने क्षेत्रमा बढ्दो हिंसा र तोडफोडका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ। पछिल्ला केही दिनयता विभिन्न व्यक्तिको घर, पसल, सञ्चार संस्था र सरकारी सम्पत्तिमा आक्रमण तथा आगजनीका घटना वृद्धि भएपछि प्रशासनले सुरक्षा व्यवस्थालाई कडा बनाउने निर्णय लिएको हो।
स्रोतका अनुसार, प्रदर्शनकारीहरूको गतिविधि नियन्त्रणभन्दा बाहिर जान थालेपछि गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी लगायतका उच्च अधिकारीहरूको आपत्कालीन बैठक बसेको थियो। सोही छलफलपछि तीनकुने क्षेत्रमा तत्काल कर्फ्यु लगाउने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार, कर्फ्युसम्बन्धी औपचारिक सूचना चाँडै सार्वजनिक गरिनेछ।
यसअघि, राजावादी समूहले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए। त्यस्तै, पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत आक्रमणको प्रयास भएको थियो।
तीनकुने क्षेत्रमा आयोजित सभाका क्रममा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोडेर अराजक गतिविधि गर्न थालेपछि अवस्था झन् जटिल बनेको थियो। त्यही क्रममा विभिन्न घर र भवनमा तोडफोड तथा आगजनी गरिएको स्थानीय प्रशासनले जनाएको छ। सुरक्षा निकायले हालै मात्र स्थिति नियन्त्रणमा लिनका लागि कडा कदम चालेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस