काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।
अदालतले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अरू ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुबराज कार्कीको एकल इजलासमा हिजो दिउँसो थुनछेक बहस सकिएपछि १२ः०० बजेपछाडी मध्यरातमा सो आदेश आएको हो ।
चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा २ जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस