राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुनेमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ। पार्टीको कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने बताए।
उनका अनुसार प्रदर्शन शान्तिपूर्ण रहँदा रहँदै सरकारले दमनको नीति अपनाएको थियो, जसले अप्रिय घटना निम्त्यायो। प्रदर्शनका क्रममा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको थियो।
तीनकुने घटनापछि केही समूहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोडेर विवाद सिर्जना गर्ने प्रयास गरिरहेकोप्रति राप्रपाले आपत्ति जनाएको छ। अध्यक्ष लिङ्देनले यस घटनामा पूर्वराजाको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै अनावश्यक रूपमा उनलाई विवादमा नतान्न आग्रह गरे।
"यो प्रदर्शन लोकतान्त्रिक अधिकारको विषय हो। यसलाई पूर्वराजासँग जोड्नु अनुचित छ," लिङ्देनले भने।
राप्रपाले तीनकुने घटनाको सत्यतथ्य बाहिर ल्याउन तीनवटा छुट्टाछुट्टै आयोग गठन गर्नुपर्ने माग गरेको छ। नागरिक छानबिन आयोग, मानवअधिकारवादी आयोग र न्यायिक आयोगमार्फत अनुसन्धान गर्नुपर्ने पार्टीको ठहर छ। लिङ्देनका अनुसार सरकारकै रणनीतिले प्रदर्शन हिंसात्मक बनेको हो, जसको निष्पक्ष छानबिन आवश्यक छ।
तीनकुने घटनापछि पक्राउ परेका पार्टी उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई चेतावनी दिइएको छ।
लिङ्देनले भने, "हाम्रा नेताहरूलाई निःशर्त रिहा गरिनुपर्छ। अन्यथा, देशव्यापी रूपमा विरोध प्रदर्शन गरिनेछ।"
राप्रपाले तीनकुने घटनाको सम्पूर्ण दोष सरकारलाई दिँदै सुरक्षा संयन्त्रको दमनकारी शैलीकै कारण हिंसा भड्किएको बताएको छ। लिङ्देनले यदि सरकार दमनको नीति नअपनाएको भए यस्तो स्थिति सिर्जना नै नहुने दाबी गरे। पार्टीले यदि मागहरू सम्बोधन गरिएनन् भने सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस