थाइल्याण्डको बैंककमा जारी बिम्स्टेक शिखर सम्मेलन अब चुलिँदै छ, किनकि आज अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रत्यक्ष वार्ता हुँदैछ। दुई नेताबीचको यो भेटवार्तालाई नेपाल–भारत सम्बन्धमा नयाँ मोडको संकेतको रूपमा हेरिएको छ।
वार्ता बैंककको म्याण्डारिन ओरियन्टल होटलमा हुनेछ, जहाँ मोदी बसेका छन्। यो भेटमा व्यापार, लगानी, क्षेत्रीय कनेक्टिभिटी, ऊर्जा सहकार्य जस्ता संवेदनशील विषयहरू छलफलको केन्द्रमा रहनेछन्। तर, भारतले प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निम्तो नदिएको सन्दर्भमा यो भेटलाई झन् चासोका साथ हेरिएको छ।
नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई बैठकमा सहभागी हुनेछन्।
यसअघि, संयुक्त राष्ट्र सङ्घ महासभामा भाग लिन न्युयोर्क पुगेका बेला ओली र मोदीबीच भेटवार्ता भएको थियो। तर, भारतले अहिलेसम्म औपचारिक निम्तो नदिएको सन्दर्भमा ओलीले फेरि मोदीलाई नेपाल भ्रमणको निम्तो दोहोर्याउने सम्भावना रहेको छ।
अब हेरौँ, ओली–मोदी वार्ताले नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा थप्नेछ, कि फेरि कूटनीतिक असमझदारी बढ्नेछ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस