भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर चिन्ह आईएसओ ९००१:२०१५ प्राप्त गरेको छ। कम्पनीले आर्थिक, प्रशासनिक, परियोजना विकास, डिजाईन तथा निर्माण पक्षमा उच्च मापदण्ड पूरा गरेकाले यो प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।
बेलायतको Stanclu Management and Services को बोर्डले भिजन लुम्बिनीको विभिन्न पक्षहरूको मूल्यांकनपछि प्रमाणपत्र प्रदान गरेको हो। कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले आइतबार बुटवल पावर कम्पनीको भवनस्थित कार्यालयमा आयोजित कार्यक्रममा सो जानकारी दिएका थिए। उनले भिजन लुम्बिनीले पारदर्शिता र सुशासनलाई आधार बनाएर सञ्चालन भइरहेको बताउँदै, बहुसंख्यक जनताको लगानी सुरक्षित रहेको उल्लेख गरे।
कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले यस्ता अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणपत्र प्राप्त गर्ने अभ्यास अन्य उर्जा कम्पनीहरूले पनि गर्नुपर्ने धारणा राखे।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भिजन लुम्बिनीले प्रमाणपत्र प्राप्त गरेर नेपालमै विश्वसनीय र पारदर्शी कम्पनीको उदाहरण प्रस्तुत गरेको बताए। उनले यस्तो प्रमाणपत्रले कम्पनीको लगानी सुरक्षित रहनेमा विश्वास बढाउने उल्लेख गरे।
तीन महिनासम्मको विस्तृत मूल्यांकनपछि प्रमाणपत्र प्रदान गरिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले जानकारी दिए।
सेती खोला जलविद्युत परियोजना छिटो, पारदर्शी, मितव्ययी रूपमा सम्पन्न गरेको, सर्वसाधारणलाई समेत परियोजनाको भागिदार बनाएको र कुनै विवादविना कार्यसम्पन्न गरेको कारणले भिजन लुम्बिनी उर्जा कम्पनी उदाहरणीय भएको प्रमुख व्यवस्थापक कुसल क्षेत्रीले बताए।
कार्यक्रममा विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक उत्तर कुमार श्रेष्ठ, पूर्व निर्देशक गणेश श्रेष्ठ, पत्रकार जीवन भण्डारी लगायतले कम्पनीलाई बधाई ज्ञापन गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस