अमेरिकाको इक्विटी फ्युचर्समा शुक्रबार गिरावट आयो, जसले गर्दा एस एण्ड पी ५०० (S&P 500) सूचकांक घट्दा बियर मार्केटको झल्को दियो। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार युद्धमा पछाडि हट्ने कुनै संकेत नदेखाएपछि लगानीकर्ताहरू चिन्तित बनेका छन्।
अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् कि यस्तो व्यापार तनावले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पनि मंदीमा धकेल्न सक्छ।
Nasdaq मा २०२० पछि कै सबैभन्दा तीव्र गिरावट
शुक्रबार, अप्रिल ४, २०२५ मा Nasdaq 100 सूचकांक ४% ले घट्यो, जुन फेब्रुअरी महिनाको उच्च बिन्दुबाट २०% भन्दा बढीले घट्दै बियर मार्केटमा प्रवेश गर्न लागेको संकेत हो। यसलाई २०२० को महामारी पछिको सबैभन्दा तीव्र गिरावटका रूपमा लिइएको छ।
टेक कम्पनीहरूमा ठूलो दबाव
रायटर्सका अनुसार S&P 500 को फ्युचर्स बिहान ७:०८ ET (१२:०८ GMT) सम्ममा ३.३३% ले झर्यो, डाओ फ्युचर्स २.७३% ले घट्यो भने Nasdaq 100 को ई-मिनी फ्युचर्स ३.८३% ले तल झरे। एप्पलको सेयर मूल्य ७.४% ले घट्यो, कारण उसले चीनबाट आयात हुने उत्पादनमा ५४% सम्मको ट्यारिफ भोग्नुपरेको छ। माइक्रोसफ्ट २.५% र एनभिडिया ५.३% ले घटेका छन्।
‘ब्ल्याक मन्डे’ आउन सक्ने चेतावनी
CNBC होस्ट जिम क्रेमरले सन् १९८७ को ‘ब्ल्याक मन्डे’ जस्तै अवस्था आउन सक्ने चेतावनी दिएका छन्। उनले भने, “यदि राष्ट्रपति ट्रम्पले नियम मानेका देश र कम्पनीहरूलाई पुरस्कृत गर्ने पहल नगरेमा, सन् १९८७ को जस्तो दुर्घटना दोहोरिन सक्छ। सोमबारसम्ममा हामीले त्यसको संकेत पाइसक्नेछौं।”
उनले X (पूर्व ट्विटर) मा लेखे, “अबको कमजोर विश्व व्यवस्थालाई एक्कासी बनाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म ८७ को जस्तो दुर्घटना टार्ने कुनै उपाय देखिएको छैन।”
४० वर्षयताकै चौथो ठूलो दुई-दिने गिरावट
पूर्व ट्रेजरी सेक्रेटरी ल्यारी समर्सका अनुसार गएको साता बजारमा आएको गिरावट दोस्रो विश्वयुद्धयताकै चौथो ठूलो दुई-दिने गिरावट हो, जुन १९८७ को क्र्यास, २००८ को वित्तीय संकट र २०२० को कोभिड महामारीपछि भएको हो।
अन्य बजारहरूमा पनि उथलपुथल
अमेरिकाको दुई वर्षे ट्रेजरी यिल्ड सन् २०२२ यताकै न्यूनतममा झरेपछि बाँडफाँड बजार (Treasuries) पुनः बलियो बनेको छ।
तेलको मूल्य चार वर्षयताकै न्यूनतममा झर्यो – ब्रेन्ट क्रूड $६३.०१ प्रति ब्यारेलसम्म घट्यो।
सुनको मूल्य बढ्यो र सुरक्षित मुद्राहरू जस्तै जापानी येन र स्विस फ्र्याङ्क बलियो भए।
साउदी अरेबियाले एशियाका प्रमुख ग्राहकहरूका लागि आफ्नो क्रुडको मूल्य $२.३० ले घटायो।
ट्रम्पको अडान: "ट्यारिफ औषधी हो"
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार भने, विदेशी सरकारले अमेरिकी ट्यारिफ हटाउन "धेरै पैसा तिर्नुपर्ने" बताए। उनले यस्तो ट्यारिफलाई “औषधी” भन्दै बचाउ गरे। उनले भने, “बजारमा आएको $६ ट्रिलियन घाटाले मलाई चिन्तित बनाएको छैन।”
एशियाली बजारमा पनि असर
जापानको निक्केई २२५ सूचकांक बजार खुलेको केही समयमै ८% ले घट्यो।
अस्ट्रेलियाको ASX २०० मा ६% को गिरावट आयो।
दक्षिण कोरियाको KOSPI ४.४% ले झर्यो।
चीनको बजार लामो बिदापछि सोमबार खुल्दैछ, तर अमेरिकी ट्यारिफको जवाफस्वरूप चीनले ३४% आयात शुल्क लगाएको खबरले लगानीकर्ता तनावमा छन्। अमेरिकी सूचीमा रहेका चिनियाँ सेयरहरू शुक्रबार ८.९% ले झरे।
भारतमा पनि असर, Nifty मा भारी गिरावटको पूर्वानुमान
भारतीय बजारमा यो हप्ता अस्थिरता रहने अनुमान गरिएको छ। Nifty फ्युचर्स सोमबार बिहान ७:२१ IST सम्ममा ३.४% तल २१,१२८.५ मा कारोबार भइरहेको छ। यसले Nifty 50 मा भारी गिरावटको संकेत दिन्छ। विश्लेषकहरूले भने, अमेरिकी ट्यारिफ र संभावित व्यापार युद्धले विश्वव्यापी व्यापार र विकास दरमा गम्भीर असर पार्न सक्ने भएकाले लगानीकर्ता सतर्क छन्।
फेडरल रिजर्भको नजर मुद्रास्फीतिमा
फेडरल रिजर्भका अध्यक्ष जेरोम पाउवेलले भनेका छन् कि ट्यारिफले मुद्रास्फीति बढ्न सक्ने खतरा छ, जसले ब्याजदर कटौतीको सम्भावनालाई घटाएको छ। तर लगानीकर्ताहरू भने मंदी आउँछ कि भन्ने डरले फेड दर घटाउने अपेक्षा गरिरहेका छन्।
एजेन्सीको सहयोगमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस