अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको उत्पादन फिर्ता ल्याउने उद्देश्यले विदेशी राष्ट्रहरूमा असाधारण ट्यारिफ लगाउँदै आएका छन्। चीनमाथि १४५ प्रतिशतको भारी ट्यारिफ लगाइएपछि एप्पलजस्ता कम्पनीहरूलाई आफ्ना उत्पादन एकाइहरू अमेरिकामै सार्न बाध्य बनाउने रणनीति वाशिङ्टनले लिएको देखिएको छ।
यद्यपि एप्पलले केही उत्पादन एकाइहरू भारत र भियतनामजस्ता मुलुकहरूमा सारिसकेको भए पनि, चीन अझै पनि कम्पनीको सबैभन्दा ठूलो उत्पादन केन्द्रका रूपमा रहेको छ। ट्रम्पले आइतबार थप ट्यारिफ ल्याउने चेतावनी दिँदै स्मार्टफोन आयातमै कर लगाउने बताएका छन्। उनको स्पष्ट उद्देश्य हो — एप्पलजस्ता अमेरिकी कम्पनीहरूले आइफोन अमेरिकामै उत्पादन गरून्।
तर के आइफोन अमेरिकामै उत्पादन सम्भव छ त?
सन् २०१२ मा न्यूयोर्क टाइम्स ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार, पूर्वराष्ट्रपति बाराक ओबामा र एप्पलका संस्थापक स्टीव जब्सबीच सन् २०११ को एक निजी डिनरमा भएको संवादले यस प्रश्नको जवाफ दिन्छ। ओबामाले सोधेका थिए, "के गर्दा आइफोनहरू अमेरिकामै बनाउन सकिन्छ?"
जब्सले संक्षिप्त तर स्पष्ट जवाफ दिएका थिए — "यी कामहरू अब फर्कँदैनन्।"
त्यसबेला एप्पलका कार्यकारीहरू विश्वास गर्थे कि विदेशी कामदारहरूमा रहेको दक्षता, लचिलोपन र कठोर परिश्रम अमेरिकी श्रमिकहरूसँग तुलना गर्न नसकिने खालको थियो। साथै, चीनमा बनेको आपूर्ति शृङ्खला (supply chain) अमेरिका सर्न निकै कठिन र खर्चिलो हुने अनुमान गरिएको थियो।
एपी न्यूज एजेन्सी का अनुसार, एप्पलले उत्पादन अमेरिका सार्दा ठूलो चुनौती भोग्नु पर्नेछ। चीनमा १९९० को दशकदेखि निर्मित जटिल आपूर्ति शृङ्खला फेरी निर्माण गर्न वर्षौं लाग्नेछ। साथै, नयाँ कारखाना बनाउन अर्बौं डलर खर्च हुनेछ, जसको प्रत्यक्ष असर उपभोक्तालाई पर्नेछ। मूल्यमा तीन गुणासम्म बृद्धि हुनसक्ने र आइफोनको बिक्री नै धरापमा पर्नसक्ने जोखिम देखिन्छ।
एप्पलले चीनबाट भारत र भियतनामतर्फ केही उत्पादन सारिसकेको भए पनि, चीन अझै पनि प्रमुख निर्माण केन्द्र हो। ट्रम्पले फेरि ट्यारिफ ल्याउने तयारी गरिरहेका बेला, एप्पलले मूल्य बढाउनु पर्ने सम्भावना निकै बलियो छ।
यद्यपि, एप्पलले अमेरिकामा $५०० अर्ब लगानी र आगामी ४ वर्षमा २०,००० रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइसकेको छ। यसअघि ट्रम्पकै कार्यकालमा कम्पनीले $३५० अर्ब लगानीको घोषणा गरेको थियो, जब आइफोनलाई चिनियाँ ट्यारिफबाट छुट दिइएको थियो।
डोनाल्ड ट्रम्पको 'Made in USA' सपना पूरा गर्न एप्पलजस्ता कम्पनीहरूले ठूलो आर्थिक, प्रविधिक र श्रम व्यवस्थापनको चुनौती सामना गर्नु पर्ने देखिन्छ। उत्पादन अमेरिका ल्याउँदा मूल्य वृद्धिले बजार नै घट्न सक्छ, जसले विश्वव्यापी उपभोक्तालाई असर पार्नेछ।
एजेन्सीको सहयोगमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस